काठमाडौंः भारतको चिफ अफ डिफेन्स स्टाफ (सीडीएस) विपीन रावतको हेलिकोप्टर दुर्घटनामा मृत्यु भएको छ। रावतसहित उनकी श्रीमती मधुलिका रावतको पनि निधन भएको भारतीय रक्षामन्त्री राजनाथ सिंहले जानकारी दिएका छन्।
विपीन रावत भारतीय स्थल सेनाध्यक्षको हैसियतमा करिब पाँच वर्षअघि नेपाल भ्रमण गरेका थिए। त्यतिबेला राष्ट्रपति विद्यादेवी भण्डारीले रावतलाई विसं २०७३ चैत १६ गते नेपाली सेनाको महारथीको दर्ज्यानी चिन्ह प्रदान गरेकी थिइन्।
राष्ट्रपति भवन सितल निवासमा २०७३ चैत १६ गते आयोजित विशेष समारोहमा राष्ट्रपति भण्डारीले उनलाई मानार्थ महारथीको उपाधि प्रदान गरेकी थिइन्।
नेपाल र भारतबीच एकअर्को मुलुकका सेना प्रमुखलाई मानार्थ महारथीको दर्जा प्रदान गर्ने चलन रहिआएको छ। तत्कालीन प्रधानसेनापति राजेन्द्र क्षत्रीको औपचारिक निमन्त्रणामा भारतीय सेनाध्यक्ष रावत २०७३ चैत १५ चार दिवसीय भ्रमणको सिलसिलामा नेपाल आएका थिए। अन्नपुर्ण पोष्ट
















































