स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले देशभर ७५ लाख बालबालिकालाई टाइफाइडविरुद्धको खोप लगाउने भएको छ। मंगलबार काठमाडौंमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा स्वास्थ्य सेवा विभागको बालस्वास्थ्य तथा खोप शाखाका प्रमुख सागर दाहालले यही चैत २५ देखि वैशाख १८ गतेसम्म उक्त खोप लगाइने जानकारी दिए।
उनले एक वर्ष तीन महिनादेखि १५ वर्ष उमेरसम्मका सबै बालबालिकालाई एकपटक टाइफाइडविरुद्धको खोप लगाइने बताए। गाभी (खोपसम्बन्धी विश्वव्यापी सञ्जाल)ले नेपाललाई निःशुल्क टाइफाइड खोप उपलब्ध गराएको छ। नेपाल दक्षिण एसियामा टाइफाइडविरुद्धको खोप लगाउने पहिलो मुलुक भएको र विश्व स्वास्थ्य संगठनले नेपालसहित टाइफाइडबाट पीडित अन्य देशमा पनि खोप लगाउन सिफारिस गरेको हो।
शाखा प्रमुख दाहालले विगत पाँच वर्षको तथ्यांक हेर्दा नेपालमा चार लाख ५० हजारभन्दा बढीमा टाइफाइड रोगको संक्रमण देखिने गरेको बताए। उनका अनुसार सन् २०१९ मा ८२ हजार ४४९ टाइफाइडका बिरामी रहेको अनुमान गरिएको थियो। यसको संक्रमण सबै उमेर समूहमा देखिए पनि १५ वर्षभन्दा मुनिका बालबालिकामा बढी हुने गरेको छ।
टाइफाइड साल्मोनेला टाइफीबाट हुने कडा खालको रोग हो। ढल वा संक्रमित व्यक्तिको दिशामा पाइने टाइफाइड रोगको जीवाणु स्वस्थ व्यक्तिमा दूषित खाना वा पानीको माध्यमबाट सर्दछ। यो रोग लागेमा उच्च ज्वरो आउने, टाउको दुख्ने, जिउ दुख्ने, पसिना आउने, पखाला लाग्ने र बान्ता हुनेजस्ता लक्षण देखिने गर्दछ। रासस
















































