नेपालगञ्ज । यहाँस्थित नेपाल–भारत सीमाको जमुनाहा नाकामा एक्कासी सुरक्षा व्यवस्था कडा पारिएको प्रहरीले जनाएको छ । सो नाकाबाट ठूलो परिमाणको लागु औषधसहित साना हातहतियारसमेत भित्रिन सक्ने आशंकामा नाकामा सुरक्षा व्यवस्था कडा पारिएको इलाका प्रहरी कार्यालय, जमुनाहाले जनाएको छ ।
नाकामा सुरक्षा कडाई गर्ने दुबै देशका सुरक्षा अधिकारीबीच भएको सहमति र नेपालगञ्ज भित्रिने भारतीय साना गाडीबाट अवैध हातहतियार भित्रिन सक्ने आशंकालाई मध्यनजर गरी सुरक्षा कडा पारिएको इलाका प्रहरी कार्यालय, जमुनाहाका इन्चार्ज वरिष्ठ सई माधवप्रसाद रिजालले बताउनुभयो ।
विगतबाटै लागू औषध भित्र्याउने कार्य धेरै हुँदै आएकाले सो नियन्त्रण गर्नुका साथै अन्य प्रकारका गैरकानूनी सामान भित्रिन नदिन नाकामा कडाई गरेर भारतबाट आउने सवारी साधनमाथि निगरानी बढाइएको उहाँले बताउनुभयो । इलाका प्रहरी कार्यालय, जमुनाहाका इञ्चार्ज वरिष्ठ सई रिजालले नाकामा चेकजाँचमा कडाई गर्नुका साथै आवागमन गर्ने सर्वसाधारण र भारतीय पर्यटकसँग राम्रो व्यवहार गर्न मातहतका प्रहरीलाई निर्देशन दिएको बताउनुभयो ।
उहाँले सीमापारी गएर घरायसी सामान किनमेल गर्ने नामबाट पनि तस्करी बढ्दै गएको पाइएको जनाउँदै त्यसमा पनि नियन्त्रण गर्ने कार्य शुरु गरिएको बताउनुभयो । सीमापारीको रुपैडिहा बजारमा लागूऔषध खुला रुपमा विक्री हुने गरेकाले सो सेवन गर्न तथा खरिद गर्न दैनिक ठूलो संख्यामा नेपाली युवा रुपैडिहा पुग्ने गरेको हुँदा उक्त कार्य रोक्न पनि निगरानी कडा पारिएको प्रहरीले जनाएको छ । दैनिक रुपमा सीमापारी गएर आउने व्यक्तिहरुको पनि पहिचान गर्न र उनीहरुलाई कडा रुपमा सोधपुछ गर्दै चेकजाँच गर्न मातहतका प्रहरीलाई निर्देशन दिएको वरिष्ठ सई रिजालले बताउनुभयो ।
नेपालतर्फको जमुनाहा नाकामा चेकजाँच कडा पारिएपछि भारतीय सुरक्षा निकाय एसएसबीले पनि चेकजाँच कडा गर्दै गएको जमुनाहा प्रहरी कार्यालयका प्रहरी सहायक निरीक्षक कुलबहादुर विकले बताउनुभयो । उहाँले नाकाबाट आउजाउ गर्ने दुबै देशका नागरिकको चेकजाँचमा भारतीय सुरक्षाकर्मीले पनि कडाई शुरु गरेको पाइएको बताउनुभयो । यसअघि स्थानीय तहको निर्वाचनको समयमा पनि नाकाको सुरक्षा व्यवस्था कडा पार्नुका साथै खुला रहेको सबै नाकामा थप सुरक्षाकर्मी परिचालन गरिएको थियो ।
















































