अर्घाखाँचीको भूमिकास्थान नगरपालिकास्थित जयठाटीमा भएको बस दुर्घटनामा मृतकको सङ्ख्या दुई र घाइतेको सङ्ख्या ३६ पुगेको छ।
गम्भीर घाइते भएकाहरू १० जनालाई बुटवल रेफर गरिएको छ।
वडा नं ५ र ६ को सिमाना पर्ने जयठाटीमा सोमबार साँझ ५ बजेतिर सडकमा देउसीभैलो खेल्नेहरू नाचिरहेको स्थानमा ना ३ ख २४७१ नं को बसको ‘ब्रेक फेल’ भएर उनीहरूलाई जथाभावी ठक्कर दिएको थियो।
बसले भैलो खेलिरहेकाहरूलाई ठक्कर दिएकामा एक महिलाको घटनास्थलमै मृत्यु भएको थियो भने अर्घाखाँची अस्पतालमा उपचारका क्रममा २२ वर्षीय तारा श्रेष्ठको मृत्यु भएको प्रहरी नायब उपरीक्षक चक्रबहादुर मल्लले जानकारी दिए।
घाइते एक जना स्थानीयबासी सागर मरासिनीले बस अचानक आएको बताए। आफू भाग्यले बाँचेको स्थानीय एक सञ्चारमाध्यमलाई उनले प्रतिक्रिया दिएका छन्।
उनले भने, ‘म दुईवटा टायरको बीचमा परेर बाँचेछु।’
















































