तौलिहवा(कपिलबस्तु), फागुन १९ गते । कपिलवस्तुमा महिलाहरूलाई सुरक्षित गर्भपतन तथा परिवार योजना सेवामा सहज पहुँच उपलब्ध गराउने उद्देश्यले निःशुल्क सुरक्षित गर्भपतन सेवा सुरु गरिएको छ । सुनौलो परिवार नेपालद्वारा सञ्चालित मेरी स्टोप्स सेन्टर तौलिहवाको पहलमा जिल्लाको कपिलबस्तु नगरपालिका, मायादेवी गाँउपालिका र यशोधरा गाँउपालिकामा बसोबास गर्ने महिलाहरूलाई निःशुल्क सेवा प्रदान गरिनेछ ।
सो अवसरमा बोल्दै कपिलबस्तु नगरापलिकाका नगर प्रमुख सुदीप पौडेलले महिलाहरूको स्वास्थ्य र अधिकारलाई प्राथमिकतामा राख्दै स्थानीय सरकारको पूर्ण समर्थन रहने बताउनुभयो । उहाँले भन्नुभयो, “स्वास्थ्य सेवा प्रत्येक नागरिकको आधारभूत अधिकार हो । सुरक्षित गर्भपतन सेवाको सहज पहुँचले महिलाहरूको जीवन रक्षा गर्नुका साथै उनीहरूको स्वास्थ्य सुदृढ बनाउन सहयोग पुग्नेछ ।”
सुनौलो परिवार नेपाल एवम् मेरी स्टोप्स सेन्टरका उप निर्देशक अनिल यादवले यस सेवाले महिलाहरूलाई सुरक्षित, गोप्य तथा गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउने बताउनुभयो ।
सुनौलो परिवार नेपाल एवम् मेरी स्टोप्स सेन्टरका लुम्बिनी प्रदेश इन्जार्च मनिराम पाण्डेयले सुरक्षित गर्भपतन गराउने महिलाहरुलाई परिवार नियोजनका विभिन्न साधनहरू तथा परामर्श सेवाहरू पनि निःशुल्क रूपमा प्रदान गरिने बताउनुभयो ।
सो अवसरमा कपिलबस्तु नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पुनाराम पौडेल, मायादेवी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामकृष्ण तेली, कपिलवस्तु नगरपालिका स्वास्थ्य शाखा प्रमुख उमेश गुप्ता, गैर–सरकारी संघका अध्यक्ष जय प्रकाश पाण्डेय लगायतको सहभागिता रहेको थियो ।
















































