साझा न्यूज । कपिलवस्तु (जितपुर)
प्रहरीले स्रोत नखुलेको नेपाली र भारतीय गरी २८ लाख ९० हजार रुपैया सहित ४ जनालाई पक्राउ गरेको छ । सन्धिखर्क नगरपालिका वडा नं. ५ का ३० वर्षीय गोविन्द वि.क. र उनका साथी बुटवल उपमहानगरपालिका वडा नं. १६ का ४१ वर्षीय बसन्त खरेल लाई प्रहरीले पक्राउ परेको हो । पक्राउ परेका वि.क.को साथबाट प्रहरीले भारतीय ५ सय रुपैयाको १ हजार ८ सय थान गरी कुल भारतीय रुपैया ९ लाख बरामद गरेको प्रहरी नायब उपरीक्षक मोहनमणि अधिकारीले बताए ।
यसै गरी सोही स्थानबाट प्रहरीले कपिलवस्तु जिल्ला मायादेवी गाउंपालिका वडा नं. ८ का ३८ वर्षीय सोमनाथ कसौधन र उनका साथी कपिलवस्तु नगरपालिका वडा नं. ११ का शेषनारायण गिरीलाई पनि पक्राउ गरेको छ । पक्राउ परेका कसौधनको साथबाट प्रहरीले स्रोत नखुलेको १४ लाख ५० हजार नेपाली रुपैया बरामद गरेको छ ।
स्रोत नखुलेको भारतीय रुपैयाको सटही कारोवार हुदैछ भन्ने गोप्य सूचनाको आधारमा वाणगंगा नगरपालिका वडा नं. ४ जितपुर चोक स्थित केसी फेन्सी पसलको अण्डर ग्राउण्डमा रहेको कपडा गोदाममा प्रहरीले छापा मारी ४ जनालाई पक्राउ गरिएको ईलाका प्रहरी कार्यालय पिपराका प्रहरी निरिक्षक लोकेन्द्र जि.सी.ले बताए ।
पक्राउ परेका दुई समूहले अवैध रुपमा नेपाली रुपैया र भारतीय रुपैया खरिद विक्री कार्य गरिरहेको हुन सक्ने अनुमान गरिएको छ । बरामद भएको नेपाली र भारतीय रुपैया सहित ४ जनालाई थप अनुसन्धानका लागि राजश्व अनुसन्धान कार्यालय बुटवल पठाईएको प्रहरी नायब उपरीक्षक अधिकारीले बताए ।
नेपाली १० लाख रुपैया र भारतीय ५० हजार रुपैया भन्दा बढी साथमा बोकेर हिड्नु गैरकानुनी मानिन्छ । सोही अनुसार उनीहरुलाई गैरकानुनी रकम बोकेको आरोपमा पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
जिल्लामा खुलेयाम भारतीय रुपैयाको कालोबजारी, स्थानीय प्रशासन मौन
जिल्लामा खुलेयाम रुपमा भारतीय रुपैयाको कालो बजारी गर्ने अवैध व्यवसाय फस्टाउंदै गरेको छ । जिल्ला सदरमुकाम तौलिहवा, मर्यादपुर, कृष्णनगर लगायतका स्थानमा खुलेका सटही काउन्टरहरुले नियम विपरित चर्को मूल्यमा भारतीय नोट सहटी गरिरहेका छन् ।
५ सय रुपैया भारतीय नोट नेपालमा प्रतिवन्ध गरिए पनि विभिन्न सटही काउन्टर र पसलहरुले समेत खुलेयाम रुपमा हजारौं रुपैया भारतीय ५ सय रुपैया सटही गरिरहेका छन् ।
सीमा क्षेत्रमा खटिएका सुरक्षाकर्मीहरुले खुलेयाम रुपमा भारतीय रुपैयाको अवैध ढंगबाट सटही भई रहंदा पनि टुलु टुलु हेरेर वस्न बाध्य बनेका छन् । यसरी खुलेयाम भारतीय रुपैयाको कालो बजारी गर्नेलाई भने खासै कुनै कारवाही हुन नसक्दा सीमा क्षेत्रमा भारतीय रुपैया सटहीको अवैध धन्धा झन् फस्टाउंदै गएको छ ।
















































