रमेश मिश्रा । साझा न्युज
कपिलवस्तु, ५ वैशाख । लागु औषध व्राउन सुगर सहित वाणगंगा नगरपालिका वडा नं. ४ दरखास्तबाट प्रहरीले एक भारतीय नागरिक सहित २ जनालाई पक्राउ गरेको छ । प्रहरीका अनुसार पक्राउ पर्नेहरुमा बर्दिया जिल्ला गुलरिया नगरपालिका वडा नं. ७ बस्ने वर्ष ३० वर्षीय विशाल गुप्ता र भारत देश उत्तर प्रदेश बहराईचका ३२ वर्षीय अमित पोरवाल रहेका छन् ।
उनीहरुलाई ईलाका प्रहरी कार्यालय पिपराबाट खटिएको प्रहरी टोलीले वाणगंगा नगरपालिका वडा नं. ४ दरखास्त स्थित सार्वजनिक प्रतिक्षालयबाट पक्राउ गरेको हो । लागु औषधको अवैध कारोवार हुदैछ भन्ने विशेष सूचनाका आधारमा उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
वाणगंगा नगरपालिका वडा नं. ४ दरखास्त स्थित सार्वजनिक प्रतिक्षालयको छेउमा भे १२ प १७८७ नं. को मोटरसाईकल रोकि राखि प्रतिक्षालयमा रहेको काठको बेन्चमा बसिरहेको अवस्थामा उनीहरुलाई पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक मोहन मणि अधिकारीले बताए ।
प्रतिक्षालयमा रहेको काठको बेन्चमा निजहरुको साथमा रहेको कालो प्लाष्टिकको पोका शंका लागी खोलि हेर्दा सेतो प्लाष्टिक भित्र दुई वटा पोकामा लागु औषध (ब्राउन सुगर) जस्तो देखिने लागु औषध फेला परेको, प्लाष्टिक हटाई दुवै पोकालाई एकसाथ तौल गर्दा १०२ ग्राम ८० मिलिग्राम फेला पारिएको प्रहरी नायब उपरीक्षक अधिकारीले बताए ।
पक्राउ परेका दुवै जनालाई जिल्ला अदालतबाट ७ दिन को म्याद लिई अनुसन्धान भई रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
















































