कपिलवस्तु, वैशाख १८ गते । जिल्लाको महाराजगंज नगरपालिका वडा नं. ८ कजरहवा तथा कजरहवा स्वास्थ्य चौकीको संयुक्त आयोजनामा निःशुल्क आँखा शिविर सम्पन्न भएको छ । सिद्धार्थ नेत्रालयको प्राविधिक सहयोगमा सम्पन्न उक्त शिविरमा १ सय २५ जनाले आँखा परीक्षण गराएका थिए ।
शिविरमा जाँच गराइएका बिरामीमध्ये १७ जनाको मोतियाबिन्दु देखिएको र उनीहरूको निःशुल्क शल्यक्रिया गरिने सिद्धार्थ नेत्रालयका प्रमुख सुदन वाग्लेले बताउनुभयो । आँखा सम्बन्धी विभिन्न समस्या लिएर आएका सर्वसाधारणले शिविरमा सुविधा पाएपछि खुसी व्यक्त गरेका थिए ।
महाराजगंज नगरपालिका वडा नं. ८ का वडाध्यक्ष योगेन्द्र कुमार केसीले आफ्नो वडामा पहिलोपटक यसरी व्यवस्थित ढंगले आँखा शिविर सम्पन्न भएकोमा खुसी व्यक्त गरे । “सिद्धार्थ नेत्रालयको प्राविधिक सहयोगमा भएको यो शिविरले गाउँका धेरै नागरिकलाई आँखा सम्बन्धी समस्या पहिचान गर्न र उपचारको बाटो खोलिदिएको छ” उनले भने, “अझ धेरै जनतालाई सेवा पु¥याउन भविष्यमा पनि यस्ता कार्यक्रम निरन्तर गर्न आवश्यक छ ।”
स्थानीयबासीले समेत यस्ता निःशुल्क स्वास्थ्य सेवा कार्यक्रमलाई थप नियमित र व्यापक बनाउन आग्रह गरेका छन् ।
















































