कपिलवस्तु, असार ९ । धानको बीउ लिएर रोपाइँका लागि जाँदै गरेको ट्याक्टर दुर्घटना हुँदा कपिलवस्तु नगरपालिका–८ दोहनीमा दुई महिलाको ज्यान गएको छ।
सोमबार बिहान साढे १० बजेतिर नम्बर नखुलेको ट्याक्टर अनियन्त्रित भई पोखरीमा खस्दा वडा नम्बर ८, पश्चिम बेलौहाकी २० वर्षीया दुर्गावती कोरी र ४५ वर्षीया दुर्गावती कोरीको मृत्यु भएको वडा अध्यक्ष शिवकुमार पाण्डेयले जानकारी दिए।
नयाँ बनेको माटोको बाटो चिप्लिएर ट्याक्टर पोखरीमा खसेको थियो। ट्याक्टरमा चालकसहित ६ जना सवार थिए। दुर्घटनापछि च्यापिएका दुई महिलाको घटनास्थलमै मृत्यु भएको हो भने अन्य तीन जनालाई स्थानीयले उद्धार गरी कपिलवस्तु अस्पताल पुर्याइएको छ।
प्रहरी नायब उपरीक्षक मोहनमणि अधिकारीका अनुसार घाइतेहरूको उपचार भइरहेको छ भने ट्याक्टर चालक भने फरार छन्। पोखरीमै डुबेको ट्याक्टरको नम्बरसमेत खुल्न नसकेको अधिकारीले बताए।
हाल घटनाको अनुसन्धान जारी रहेको र चालकको खोजी भइरहेको प्रहरीले जनाएको छ।
















































