कपिलवस्तु, चैत्र ५ । कपिलवस्तु नगरपालिका २ स्थित श्री गौतमबुद्ध आधारभूत विद्यालयमा २९ जना बालबालिकालाई शैक्षिक सामग्री तथा उनीहरूका अभिभावकलाई खाद्यान्न वितरण गरिएको छ ।
विद्यालय व्यवस्थापन समितिका पूर्व अध्यक्ष सुरेन्द्रराज लम्साल को अध्यक्षता तथा लुम्बिनी विकास कोषका पूर्व सदस्य राजेश ज्ञवाली को प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा विद्यार्थीलाई टोपी, स्वीटर, कापी, कलम, ड्रेस, झोला र पेन्सिललगायत सामग्री प्रदान गरिएको थियो । अभिभावकलाई चामल र तेल वितरण गरिएको विद्यालयले जनाएको छ ।
कार्यक्रममा विद्यालयकी प्रधानाध्यापक सुजाता सुवाल ले स्वागत मन्तव्य राख्नुभएको थियो । कार्यक्रममा वडा नं. २ का पूर्व वडाध्यक्ष रामभजन कलवार, राइट टु एक्सेस नेपालका विनोद पौडेल, वडा सदस्य नुरजहा खातुन लगायतको सहभागिता रहेको थियो ।
प्रमुख अतिथि ज्ञवालीले विद्यालयलाई अझ सक्षम र प्रभावकारी बनाउन स्थानीय समुदायको साथ तथा अभिभावकको सक्रियता आवश्यक रहेको बताउनुभयो । उहाँले शिक्षामा गरिएको लगानीले समाजलाई समुन्नत बनाउने भएकाले यस क्षेत्रमा सबैको सहकार्य अपरिहार्य रहेको धारणा राख्नुभयो ।
त्यस्तै, विनोद पौडेलले शैक्षिक सामग्री वितरण कार्यक्रमले बालबालिकाको अध्ययनप्रति रुचि र उत्साह बढाउने विश्वास व्यक्त गर्नुभयो ।
कार्यक्रममा शिक्षक, अभिभावक, स्थानीय जनप्रतिनिधि तथा विद्यालय व्यवस्थापन समितिका सदस्यहरूको सक्रिय सहभागिता रहेको थियो ।
















































