कपिलवस्तु नगरपालिका वडा नम्बर ३ महिता चोकमा सशस्त्र प्रहरीको गाडीले टेम्पुलाई ठक्कर दिँदा तीन वर्षे बालकको मृत्यु भएको छ।
सेमरीबाट तौलिहवा तर्फ जाँदै गरेको लु प्र ०१००१ ह ३६७२ नम्बरको टेम्पुलाई सशस्त्रको गाडीले ठक्कर दिँदा कपिलवस्तु नगरपालिका वार्ड नं ६ सेमेरीका अतिकूर रहमानको छोरा तीन वर्षीय महफुज मुसलमानको मृत्यु भएको हो। गम्भीर घाइते भएका उनको चौराहा अस्पताल बुटवलमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।
घटनामा ट्याम्पु चालक कपिलवस्तु नगरपालिका वडा नम्बर ३ वर्गदवाका ६० वर्षीय शिवप्रसाद चौधरी गम्भीर घाइते भएका छन्। उनको मेडिकल कलेज भैरहवामा उपचार भइरहेको छ। दुर्घटनामा घाइते भएका अन्य ८ जना सामान्य उपचारपछि घर फर्केका छन्।
ठक्कर दिने सशस्त्रको गाडी र चालकलाई अहिलेसम्म प्रहरीले नियन्त्रणमा नलिएको भन्दै पीडित परिवारले गुनासो गरेका छन् । दुर्घटना बुधबार बिहान ११ बजेको हो। मृतकको शव कपिलवस्तु अस्पतालमा राखिएको छ।
















































