वर्षायाम सुरु भएसँगै कपिलवस्तुमा सर्पदंशका घटना बढ्न थालेका छन्। विशेषगरी असारदेखि भदौसम्म सर्पको सक्रियता बढ्ने भएकाले उपचार केन्द्रमा बिरामीको चाप उल्लेखनीय रूपमा वृद्धि भएको छ।
कपिलवस्तु सर्पदंश उपचार केन्द्रका व्यवस्थापक नवीन भण्डारीका अनुसार असार महिनामा मात्रै २९१ जना सर्पदंशका बिरामी उपचारका लागि केन्द्रमा आएका थिए। तीमध्ये दुई जनालाई थप उपचारका लागि अन्यत्र रेफर गरिएको थियो।
गत आर्थिक वर्ष २०८२/८३ मा केन्द्रले कुल १ हजार ४८० जना सर्पदंशका बिरामीको उपचार गरेको छ। उपचार केन्द्रमा ल्याउने क्रममा नै छ जनाको बाटोमै मृत्यु भएको व्यवस्थापक भण्डारीले जानकारी दिए। अघिल्लो आर्थिक वर्ष २०८१/८२ मा भने १ हजार ८४२ जना बिरामीले उपचार सेवा लिएका थिए।
गत आर्थिक वर्ष उपचार गरिएका बिरामीमध्ये गोमनले डसेका ७७, करेतले डसेका ९३, भाइपरले डसेका ९६, बिच्छीले टोकेका ४६ तथा अन्य ९४५ जना रहेका थिए। तीमध्ये ३९ जनाको अवस्था गम्भीर थियो भने १५ जनालाई मात्रै रेफर गर्नुपरेको केन्द्रले जनाएको छ।
उता कपिलवस्तु अस्पतालमा पनि सर्पदंशका बिरामीको संख्या बढ्दै गएको छ। अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट (मेसु) डा. किशोर बन्जाडेका अनुसार झारफुक गर्ने, मुखले विष चुस्ने, घाउ चिर्ने, पम्प प्रयोग गर्ने जस्ता अन्धविश्वासपूर्ण अभ्यासका कारण उपचारमा ढिलाइ हुँदा बिरामीको ज्यान बचाउन कठिन हुने गरेको छ।
उपचारमा संलग्न स्वास्थ्यकर्मीका अनुसार अधिकांश बिरामीले सर्पले टोकेपछि तत्काल स्वास्थ्य संस्थामा जानुको सट्टा झारफुक र घरेलु उपचारमा समय बिताउने गरेका छन्। यही कारण उपचारमा ढिलाइ भई जटिलता बढ्ने र कतिपय अवस्थामा ज्यानै जाने गरेको उनीहरूको भनाइ छ।
व्यवस्थापक भण्डारीले विषालु सर्प वा अन्य विषालु जीवले टोकेपछि तत्काल नजिकको स्वास्थ्य संस्था वा सर्पदंश उपचार केन्द्रमा पुग्नुपर्नेमा जोड दिए।
“धेरैजसो बिरामी सुरुमा झारफुक र घरेलु उपचारमै अल्झिन्छन्। अवस्था गम्भीर भएपछि मात्रै अस्पताल ल्याइन्छ, त्यसबेला उपचार चुनौतीपूर्ण हुन्छ,” उनले भने।
उनका अनुसार सर्पले डसेपछि तुरुन्त उपचार गरिए दुई–तीन भाइल एन्टिभेनम औषधिले पुग्ने भए पनि ढिलो अस्पताल पुगेका बिरामीलाई ३० भाइलसम्म औषधि आवश्यक पर्ने अवस्था आउने गरेको छ।
उपचार केन्द्रको तथ्यांकअनुसार अधिकांश घटना भुइँमा सुतिरहेका बेला हुने गरेका छन्। त्यसैले भुइँमा नसुत्ने, घर वरपरका झाडी सफा राख्ने, झुलभित्र सुत्ने तथा घरका प्वाल टाल्ने जस्ता सावधानी अपनाए सर्पदंशको जोखिम उल्लेखनीय रूपमा घटाउन सकिने भण्डारीले बताए।
बुद्धभूमि नगरपालिका, कपिलवस्तु र शिवराज नगरपालिकासँग उपचार सेवाका लागि केन्द्रले सम्झौता गरेको छ। केन्द्रमा नेपाली सेनाको टोलीले प्राविधिक सहयोग उपलब्ध गराउँदै आएको छ।
कपिलवस्तुका साथै अर्घाखाँची, प्यूठान, दाङ, रुपन्देही र पाल्पा लगायत जिल्लाबाट पनि सर्पदंशका बिरामी उपचारका लागि यस केन्द्रमा आउने गरेका छन्। यस क्षेत्रमा कोब्रा, ब्ल्याक कोब्रा, करेत र भाइपर जस्ता विषालु सर्पको बढी जोखिम रहेको स्वास्थ्यकर्मीहरूले बताएका छन्।
















































