काठमाडौँ, भदौ २१ गते । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीपछि खोज, उद्धार, शव व्यवस्थापन तथा प्रभावित नागरिकको सुरक्षामा नेपाल प्रहरीले आफ्नो सम्पूर्ण संयन्त्र परिचालन गरेको छ ।
बाढीबाट उत्पन्न बहुआयामिक चुनौतीबीच सीमित स्रोतसाधनको अधिकतम प्रयोग गर्दै नेपाल प्रहरीले प्रभावित क्षेत्रमा खोज तथा उद्धारलाई तीव्र बनाएको हो । पछिल्लो तथ्याङ्कअनुसार विपद् व्यवस्थापनका लागि सात हजार ९१२ जना प्रहरी कर्मचारी परिचालन गरिएको छ । बाढी प्रभावित क्षेत्रबाट हालसम्म छ हजार ८५३ जनाको उद्धार गरिएको छ भने पाँच हजार १५ जना अझै बेपत्ता रहेको नेपाल प्रहरीले जनाएको छ ।
नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता प्रहरी नायब महानिरीक्षक अबिनारायण काफ्लेका अनुसार खोज तथा उद्धारलाई प्रभावकारी बनाउन आवश्यकताअनुसार विशेष टोली परिचालन गरिएको छ । नेपाल प्रहरी प्रधान कार्यालयमा प्रहरी नायब महानिरीक्षकको नेतृत्वमा ‘नेपाल प्रहरी विपद् उद्धार तथा समन्वय सूचना व्यवस्थापन केन्द्र’ स्थापना गरी चौबीसै घण्टा अनुगमन भइरहेको उहाँले बताउनुभयो ।
उक्त केन्द्रमा सम्पर्कविहीन आफन्तको खोजी तथा उद्धारका लागि परिवारजनबाट आउने सूचनाका आधारमा सम्बन्धित प्रहरी इकाइलाई जानकारी गराई खोजी कार्य अघि बढाइएको छ । हालसम्म केन्द्रमा आफन्तको खोजी तथा उद्धारका लागि एक हजार ३५१ पटक अनुरोध प्राप्त भएको प्रहरीले जनाएको छ ।
प्रहरीले बाढी प्रभावित क्षेत्रमा तालिमप्राप्त कुकुर तथा ड्रोन क्यामेरासमेत परिचालन गरी खोजी कार्य गरिरहेको छ । भौगोलिक तथा भौतिक जटिलताका कारण प्रत्यक्ष रूपमा पुग्न कठिन स्थानमा ड्रोनको प्रयोग गरिएको प्रहरीले जनाएको छ । नुवाकोटको विदुर नगरपालिका–१० बेत्रावतीमा ड्रोनको सहायताबाट एउटै घरबाट २४ वटा शव फेला पारिएको प्रहरीको भनाइ छ ।
बाढीमा परी मृत्यु भएका तथा बेपत्ता विदेशी नागरिकका सम्बन्धमा सम्बन्धित मुलुकका दूतावास तथा कूटनीतिक नियोगसँग सूचना आदानप्रदान गर्न नेपाल प्रहरी प्रधान कार्यालय र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ‘मिसिङ हेल्प डेस्क’ स्थापना गरिएको छ ।
शव व्यवस्थापनमा वैज्ञानिक विधि
बाढीपछि फेला परेका पहिचान हुन नसकेका शव तथा मानव अङ्गको व्यवस्थापनमा प्रहरीले फरेन्सिक विज्ञको सहयोग लिएको छ । घटनास्थलमा ‘सिन अफ क्राइम अफिसर’ (एसओसीओ) सहितको टोली परिचालन गरी शवको पहिचान, घटनास्थल मुचुल्का तथा आवश्यक कानुनी प्रक्रिया पूरा गर्ने काम भइरहेको प्रहरीले जनाएको छ ।
शवलाई ‘डेड बडी ब्याग’मा सुरक्षित राख्ने, फरेन्सिक परीक्षण गर्ने तथा पहिचानमा सहज होस् भनेर उपलब्ध विवरण र तस्बिर सुरक्षित राख्ने व्यवस्था गरिएको छ । बेपत्ता व्यक्तिका परिवारबाट प्राप्त नमुनाका आधारमा पहिचान गर्न सकिने गरी डिएनए नमुना सङ्कलन तथा संरक्षणसमेत गरिएको छ ।
नेपाल प्रहरी अस्पताल महाराजगन्जले फेला नपरेका नेपाली तथा विदेशी नागरिकका परिवारसँग समन्वय गरी डिएनए प्रोफाइलिङको काम अघि बढाइरहेको जनाएको छ ।
चोरी तथा अफवाह नियन्त्रणमा निगरानी
बाढीका कारण विस्थापित नागरिकका खाली घरमा चोरी तथा लुटपाट हुन नदिन प्रहरीले नियमित गस्ती र निगरानी बढाएको छ । विपद्को मौका छोपी राहत सङ्कलनका नाममा हुन सक्ने ठगी तथा अन्य आपराधिक गतिविधि नियन्त्रणमा समेत प्रहरीले निगरानी बढाएको छ ।
सामाजिक सञ्जालमा फैलिने गलत सूचना, अफवाह तथा भ्रामक सामग्रीको निगरानीसमेत तीव्र पारिएको छ । विपद्को समयमा गलत सूचना फैलाएर नागरिकमा भ्रम सिर्जना गर्ने वा खोज तथा उद्धार तथा राहत वितरणमा अवरोध पुर्याउने गतिविधिमाथि प्रहरीले निगरानी गरिरहेको जनाएको छ ।
स्वास्थ्य उपचार र राहतमा सहयोग
बाढी प्रभावित क्षेत्रमा घाइतेको उपचारका लागि नेपाल प्रहरी अस्पतालबाट विशेषज्ञ चिकित्सकसहितको टोली परिचालन गरिएको छ । घाइतेको स्वास्थ्य उपचारसँगै विपद्का कारण उत्पन्न मानसिक तनाव कम गर्न मनोपरामर्शसमेत प्रदान गरिएको प्रहरीले जनाएको छ ।
विभिन्न जिल्लामा स्थापना गरिएका होल्डिङ सेन्टरमा रहेका उद्धार गरिएका नागरिकलाई राहत वितरणमा स्थानीय तह तथा सम्बन्धित निकायसँग समन्वय गरिएको छ । प्रहरीले बाढी प्रभावित क्षेत्रमा ९२ वटा सामुदायिक सचेतना कार्यक्रम सञ्चालन गरेको र ती कार्यक्रममा ४१ हजार २५७ जना सहभागी भएको जनाएको छ ।
महिला, बालबालिका तथा ज्येष्ठ नागरिकको सुरक्षालाई ध्यान दिँदै होल्डिङ सेन्टरमा महिला प्रहरीसहितका टोली परिचालन गरिएको छ । महिला तथा बालबालिकासँग सम्बन्धित समस्या तथा गुनासो सम्बोधनका साथै आवश्यक मनोपरामर्श र स्वास्थ्य परीक्षणको व्यवस्था गरिएको प्रहरीले जनाएको छ ।
पुनःस्थापनामा पनि सहजीकरण
नेपाल प्रहरीले स्थानीय तह तथा अन्य सुरक्षा निकायसँग समन्वय गरी बाढीबाट प्रभावित विद्यालय, स्वास्थ्य चौकी, अस्पताल तथा विस्थापित नागरिकका घरको सरसफाइ र मर्मतसम्भारमा सहयोग गरिरहेको छ ।
बाढीका कारण अवरुद्ध सडकको अवस्था तथा वैकल्पिक मार्गबारे यात्रुलाई सूचना उपलब्ध गराउने र सडक पुनः सञ्चालनका लागि सम्बन्धित निकायसँग समन्वय गर्ने कामसमेत भइरहेको छ ।
बाढी प्रभावित क्षेत्रमा हिलो, पाँगो, ढुङ्गा तथा पुनः बाढी आउन सक्ने जोखिम कायमै रहे पनि खोज तथा उद्धार, बेपत्ताको खोजी, शव व्यवस्थापन, राहत वितरण, नागरिकको सुरक्षा तथा आपराधिक गतिविधि नियन्त्रणका लागि प्रहरी परिचालन भइरहेको नेपाल प्रहरीले जनाएको छ ।
















































