काठमाडौं : प्रतिनिधसभाका सभामुख डोलप्रसाद अर्याल अन्तर व्यवस्थापिका संघ (आईपीयू) को १५३औं महासभामा सहभागी भएर स्वदेश फर्किएका छन्।
तान्जानियामा भएको आईपीयुको बैठकमा सहभागी भएर सभामुख अर्याल नेतृत्वको प्रतिनिधिमण्डल मंगलबार दिउँसो स्वदेश फर्किएको हो। आईपीयूको बैठकमा नेपालको तर्फबाट प्रस्तुत गरिएको जलवायुसम्बन्धी विपद्को सम्बोधन र हिमाल तथा अन्य संवेदनशील क्षेत्रमा उत्थानशीलता सुदृढ गर्ने सम्बन्धी इमर्जेन्सी प्रस्ताव दुई तिहाइ मतसहित पारित भइ छलफल समेत भएको भ्रमणमा सहभागी संघीय संसदका महासचिव पद्म प्रसाद पाण्डेयले जानकारी दिए। यो नेपालको संसदीय इतिहासमा पहिलो र ऐतिहासिक सफलता भएको उनको भनाइ छ।
यस्तै, भ्रमणका क्रममा युवा सांसदहरूको मञ्चमा युवा नेतृत्व, संसदीय सहभागिता तथा दिगो विकासका विषयमा विभिन्न देशका युवा सांसदहरूसँग विचार आदानप्रदान भएको महासचिव पाण्डेयले जबताए।
भ्रमणका क्रममा अष्ट्रेलिया, बेलायत, चीन, भुटान र संयुक्त अरब इमिरेट्स लगायतका देशका संसदीय प्रतिनिधिमण्डलहरूसँग द्विपक्षीय भेटवार्ता तथा साइडलाइन छलफल भएको उनले जानकारी दिए।
















































