काठमाडौँ, असोज २७ गते । रोहित पौडेलले लगातार दोस्रो खेलमा उत्कृष्ट ब्याटिङ गरेपछि नेपालले मङ्गलबार आइसिसी एकदिवसीय क्रिकेट विश्वकप लिग–२ मा घरेलु टिम ओमानलाई ११३ रनले सजिलै हराएको छ ।
ओमानको अल अमिरात क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा आठ विकेटको क्षतिमा २६३ रन बनाएको थियो । ओमान जवाफमा ४० ओभरमा १५० रनमै सीमित भयो ।
नेपालका लागि पुनः रोहित पौडेल छाउनुभयो । दुई दिनअघि क्यानाडावरुद्धको जितमा कीर्तिमान शतक बनाउने रोहितले ६७ बलमा तीन चौका र एक छक्कासहित सर्वाधक ६१ रन बनाउनुभयो ।
यसैगरी प्रारम्भिक ब्याट्सम्यान अर्जुन कुमालले ५९ बलमा चार चौकासहित ४० रनको पालि खेल्नुभयो । अर्का प्रारम्भिक ब्याट्समयान आसिफ शेख भने लगातार दोस्रो खेलमा ब्याटबाट असफल हुनुभयो । उहाँ चार रनमा शाह फैजलको बलिङमा बाउन्ड्री नजिक जय ओडेड्राद्वारा क्याच आउट हुनुभयो ।
आसिफ आउट भएपछि अर्जुन र इशान पाण्डेले दोस्रो विकेटका लागि ६४ रनको साझेदारी गरी नेपालको पालि सम्हाल्नुभएको थियो । इशानले ३७ रनको योगदान दिनुभयो । त्यसपछि बसिर अहमद पनि ३७ रनमा आउट हुनुभयो । दिपेन्द्र सिंहले २२ र सन्दीप जोराले १० रन बनाउनुभयो ।
करणको अलराउन्ड प्रदर्शन
नेपालका लागि रोहितपछि करण केसीको पालिको उल्लेखनीय रह्यो । आठौँ क्रमका क्रिजमा आउनुभएका करणले १६ बलमा ४० रन बनाएपछि नेपालको पालिको अन्त्य सुखद तरिकाले गरेको थियो । करणको पालिमा एक चौका र चार छक्का सामेल थियो ।
उहाँले हसनैन शाहले फालेको ४९ औँ ओभरमा लगातार तीन छक्का प्रहार गर्नुभएको थियो । करण अन्तिम बलमा रनआउट हुनुभयो ।
त्यसपछि करणले ओमानको पालिमा पहिलो ओभरमै प्रारम्भिक ब्याट्सम्यान हसनैन उल वहाबलाई शुन्यमा बोल्ड गरेर नेपाललाई खेलको दोस्रो भागमा पनि शानदार सुरुआत दिलाउनुभएको थियो । ओमानले जवाफमा ४१ रनमै छ विकेट गुमाइसकेको थियो ।
ओमानका लागि कप्तान विनायक शुक्लाले ८३ बलमा छ चौका र एक छक्कासहित ७७ रन बनाउनुभयो । दिपेन्द्रले ओडेड्रा २५ रन योगदान दिनुभयो । सो पालिमा सन्दीप र नन्दनले तीन/तीन, दिपेन्द्रले दुई तथा करण र ललितले एक/एक विकेट लिनुभयो ।
नेपालको नजर पाँचौँ स्थानमा
यस नतिजासँगै नेपालको पाँचौँ स्थानमा उक्लने बाटो पनि खुलेको छ । नेपालको ३४ खेलबाट २८ अङ्क भएको छ । आठ टिम सहभागी यस लिग टु २०२३/२४–२०२७ को ‘साइकल’मा नेपालले अझै दुई खेल खेल्न बाँकी छ ।
पाँचौँ स्थानमा रहेको नामिबियाले एक खेल खेल्न बाँकी छँदा ३१ अङ्क बनाएको छ । नामिबियाले आप्mनो अन्तिम खेलमा हार वेहोरमा नेपालले आफ्नो अन्तिम दुई खेल जितेर शीर्ष पाँच रहेर प्रतियोगता टुङ्ग्याउनेछ ।
नेपालको शीर्ष चारमा रहेर विश्वकपको ग्लोबल छनोटमा स्वतः चयन हुने अवसर भने गुमाइसकेको छ । ओमान आउनुअघि नेपाल सातौँ स्थानमा थियो । ओमान ३० खेलमा ३३ अङ्क बनाएर चौथो स्थानमा रहेको छ ।
















































