कपिलवस्तु । कपिलवस्तुको शुद्धोधन गाउँपालिका–२ नौडिहवास्थित दुर्गा मन्दिरबाट चोरी भएका ३५ थान पित्तलका घण्टी प्रहरीले बरामद गरेको छ । चोरीमा संलग्न रहेको आरोपमा एक युवक र चोरीका घण्टी खरिद गर्ने पसल सञ्चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
गत असोज २६ गते मन्दिरबाट घण्टी चोरी भएको घटनाको अनुसन्धानका क्रममा प्रहरीले शुद्धोधन गाउँपालिका–१ बकुलीका १८ वर्षीय ईबरार अहमद मुसलमानलाई पक्राउ गरेको हो ।
प्रहरीका अनुसार मुसलमानसँग सोधपुछ गर्दा चोरी गरिएका घण्टी शुद्धोधन गाउँपालिका–३ लबनी चोकस्थित ऋषि भाँडा पसलमा बिक्री गरेको खुलेको थियो । त्यसपछि प्रहरीले पसल सञ्चालक ४१ वर्षीय दिनेश कुमार कान्दुलाई नियन्त्रणमा लिई पसलबाट ३५ थान पित्तलका घण्टी बरामद गरेको हो ।
जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी नायब उपरीक्षक रिपेन्द्रकुमार सिंहले चोरीमा संलग्न रहेको आरोपमा पक्राउ परेका मुसलमान र चोरीका सामान खरिद गरेको आरोपमा पक्राउ परेका कान्दुलाई थप अनुसन्धान तथा कानुनी कारबाहीका लागि सम्बन्धित कार्यालयमा पठाइएको जानकारी दिनुभयो ।
















































