कपिलवस्तु, असोज २९ गते । विश्व शान्तिको कामना गर्दै थाइल्यान्डबाट आएका २५ जना बौद्ध भिक्षुले बुद्ध जन्मस्थल लुम्बिनीदेखि कपिलवस्तुको निग्रोधाराम (कुदान) सम्म शान्ति पैदलयात्रा गरेका छन् ।
रोयल थाई मोनास्ट्री लुम्बिनीका प्रमुख भिक्षु सुपोतको नेतृत्वमा थाई भिक्षुहरूले शान्ति, अहिंसा र सद्भावको सन्देश प्रवाह गर्दै पैदलयात्रा गरेका हुन् । विश्वमा शान्ति कायम गर्ने उद्देश्यले यात्रा गरिएको प्रमुख भिक्षु सुपोतले बताउनुभयो ।
वाट थाई नेपालका सचिव राजेश ज्ञवालीका अनुसार निग्रोधाराम भगवान् गौतम बुद्धसँग सम्बन्धित महत्वपूर्ण ऐतिहासिक तथा धार्मिक स्थल हो । बुद्धत्व प्राप्त गरेपछि कपिलवस्तु फर्कनुभएका गौतम बुद्धले यही स्थलमा आफ्ना छोरा राहुललाई पहिलोपटक भेट्नुभएको धार्मिक मान्यता छ ।
सचिव ज्ञवालीले बुद्धका शान्ति, करुणा, मैत्री र अहिंसाका सन्देशलाई विश्वभर फैलाउन यस्ता गतिविधिले महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो । उहाँले लुम्बिनीदेखि निग्रोधाराम सम्मको पैदल यात्राले बुद्धसँग सम्बन्धित ऐतिहासिक स्थलको धार्मिक तथा पर्यटकीय महत्व उजागर गर्नसमेत सहयोग पुग्ने बताउनुभयो ।
भगवान् गौतम बुद्धको जीवनसँग सम्बन्धित महत्वपूर्ण स्थलका रूपमा परिचित निग्रोधाराममा स्वदेशी तथा विदेशी बौद्ध धर्मावलम्बीहरू पुग्ने गरेका छन् । यस्ता धार्मिक गतिविधिले कपिलवस्तु र लुम्बिनी क्षेत्रको बौद्ध पर्यटन प्रवद्र्धनमा थप टेवा पुग्ने छ ।
















































