कपिलवस्तु। कपिलवस्तुको शिवराज नगरपालिका–१ बनकसबासस्थित पूर्वपश्चिम राजमार्गमा ट्रक र दुई मोटरसाइकल एकापसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् ।
शनिबार बिहान करिब ९ः४० बजे पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको ना २ क ६६६ नम्बरको ट्रक, सोही दिशातर्फ जाँदै गरेको बा ८३ प ४४८४ नम्बरको मोटरसाइकल र पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको रा ३ प ३५८४ नम्बरको मोटरसाइकल एकापसमा ठोक्किँदा दुर्घटना भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा रा ३ प ३५८४ नम्बरको मोटरसाइकल चालक अन्दाजी ३४ वर्षीय पुरुषको मृत्यु भएको हो । गम्भीर घाइते भएका उनलाई उपचारका लागि आधारभूत स्वास्थ्य सेवा अस्पताल चन्द्रौटा पुर्याइएकामा चिकित्सकले बिहान १०ः०५ बजे मृत घोषणा गरेका थिए । मृतकको नाम, थर र ठेगाना खुल्न नसकेको प्रहरीले जनाएको छ ।
दुर्घटनामा बा ८३ प ४४८४ नम्बरको मोटरसाइकल चालक दाङको गढवा गाउँपालिका–२ बचैयाका २३ वर्षीय दिलीपकुमार यादव घाइते भएका छन् । उनको अनुहार र बायाँ खुट्टामा चोट लागेको छ । सोही मोटरसाइकलको पछाडि सवार २१ वर्षीय अनिल योगीलाई भने बाहिरी चोटपटक लागेको छैन ।
घाइते दुवै जनाको चन्द्रौटास्थित सञ्जीवनी सामुदायिक अस्पतालमा उपचार भइरहेको छ ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी निरीक्षक राजन ढकालका अनुसार दुर्घटनामा संलग्न ट्रक र दुवै मोटरसाइकल प्रहरीले नियन्त्रणमा लिएको छ । दुर्घटनापछि ट्रक चालक फरार रहेकाले उनको खोजी भइरहेको उहाँले बताउनुभयो ।
प्रहरीले दुर्घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ ।
















































