काठमाण्डौ – अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) को एशिया सम्मेलन नेपालमा हुने भएको छ । आईसीसीले नेपाल क्रिकेट संघ (क्यान) सँगको सहकार्यमा आउँदो नोभेम्बर १९ देखि २१ सम्म (मंसिर ३ देखि ५ गते) नेपालमा एशिया सम्मेलन आयोजना गर्ने भएको हो ।
सम्मेलनमा एशियाका टेस्ट खेल्ने देश तथा एशोसिएट सदस्य देशका प्रतिनिधिसहित अन्तर्राष्ट्रिय क्रिकेट समुदायका सदस्यहरू सहभागी हुनेछन् । क्रिकेटको विकास, क्षेत्रीय सहकार्य र एशियाली क्रिकेटलाई थप सुदृढ बनाउने विषयमा सम्मेलनमा छलफल हुने क्यानले जनाएको छ ।
यो सम्मेलन आयोजना गर्नु नेपाली क्रिकेटका लागि एक महत्त्वपूर्ण कोसेढुङ्गा रहेको र यसले अन्तर्राष्ट्रिय स्तरमा नेपालको उपस्थिति अझ बलियो बनाउनुका साथै खेलकुद पर्यटनलाई प्रवर्द्धन गर्न मद्दत पुर्याउने अपेक्षा गरिएको क्यानको भनाइ छ ।
सम्मेलनमा सहभागी प्रतिनिधिहरूले नेपाल प्रिमियर लिग (एनपीएल) का इलिमिनेटर र फाइनल खेलसमेत प्रत्यक्ष अवलोकन गर्ने भएका छन् ।
एनपीएल आउँदो कात्तिक ९ गतेदेखि मङ्सिर ५ गतेसम्म कीर्तिपुरमा रहेको त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा आयोजना हुँदैछ ।
















































