कपिलवस्तु, कात्तिक ९ गते । कपिलवस्तुको शिवराज नगरपालिका–२ हल्लानगरबाट ९ ग्राम २४० मिलिग्राम खैरो हेरोइनजस्तो पदार्थसहित एक महिला पक्राउ परेकी छन् ।
पक्राउ पर्नेमा स्थानीय २३ वर्षीया अस्मिता बोहोरा रहेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ ।
आफ्नै घरमा लागुऔषध कारोबार भइरहेको भन्ने विशेष सूचनाका आधारमा वडा प्रहरी कार्यालय चन्द्रौटाबाट खटिएको प्रहरी टोलीले कात्तिक ८ गते राति बोहोराको घरमा खानतलासी गरेको थियो ।
खानतलासीका क्रममा कोठाको दराजमाथि राखिएको कालो रङको झोलाबाट प्लास्टिक हटाउँदा नौ ग्राम २४० मिलिग्राम तौल भएको खैरो रङको धुलो पदार्थ र लागुऔषध तौल गर्न प्रयोग हुने एउटा डिजिटल मेसिन बरामद गरिएको प्रहरीले जनाएको छ ।
बोहोरालाई नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी नायब उपरीक्षक रिपेन्द्रकुमार सिंहले जानकारी दिनुभयो ।
















































