नेपाली कांग्रेस सात युवा नेताले पार्टीको १४औं महाधिवेशन ‘वैकल्पिक विधि र प्रक्रियाबाट गर्न’ नेतृत्वसमक्ष प्रस्ताव गरेका छन् ।
कांग्रेस युवा नेताहरू चन्द्र भण्डारी, धनराज गुरुङ, गुरु घिमिरे, गगन थापा, प्रदीप पौडेल, जीवन परियार र बद्री पाण्डेले मंगलबार सभापति शेरबहादुर देउवालाई भेटेरै ‘१४औं महाधिवेशन वैकल्पिक विधि र प्रक्रियाबाट गर्न’ प्रस्ताव गरेका हुन् ।
कोरोना बाहनामा ‘अब महाधिवेशन सार्ने गरी कुनै योजना नबनाउन’ ध्यानाकर्षण गराउँदै उनीहरूले ‘जतिसक्दो छिटो पार्टीमा सल्लाह गरेर महाधिवेशनबारे निर्णय लिन’समेत आग्रह गरेका छन् ।
कांग्रेस केन्द्रीय सदस्यसमेत रहेका युवा नेता प्रदीप पौडेलले ‘महाधिवेशन गर्नुको विकल्प नभएको’ भन्दै ‘प्रक्रियामा विकल्प खोजेर भए पनि निर्धारित समयभित्रै महाधिवेशन सम्पन्न गरिनुपर्ने’तर्फ पार्टी नेतृत्वको ध्यानाकर्षण गराएको जानकारी दिए ।
‘महाधिवेशन विषय अन्योल भयो, महामारीकैबीच प्रक्रियामा विकल्प खोजेर भए पनि गरौं भनेर सभापतिलाई भनेका छौं,’ नेता पौडेलले राजधानीसँग भने, ‘सभापतिज्यूले पदाधिकारी बैठक बोलाएर छलफल गर्छु भन्नु भएको छ ।’