प्रधानमन्त्री वालेन्द्र शाह भारत भ्रमणमा जाने भएसँगै नवलपरासी (बर्दघाट–सुस्ता पश्चिम) का स्थानीयले आफ्नो पीडा भारतसमक्ष राख्न माग गरेका छन्।
नारायणी नदीले कटान गरेर समस्या निम्त्याउँदै आएको सुस्ताका करिब ३०० घरपरिवारका लागि प्रधानमन्त्री शाहले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसमक्ष समस्या समाधान गराउन विशेष भूमिका खेल्नुपर्ने स्थानीयको भनाइ छ।
सुस्ता वडा नम्बर ५ का आदम खाँका अनुसार यस भ्रमणका क्रममा सुस्ताबारे कुरा उठाउँदै समस्याको निकास खोज्नुपर्छ। यद्यपि, युवा प्रधानमन्त्री भए पनि भारत भ्रमणका क्रममा यस विषयले प्राथमिकता नपाउनेमा खाँको शका छ। ६३ वर्षीय खाँले भने, ‘भारतको भूमि मिचेर कहिल्यै इज्जत र मानसम्मान पाउन सकिँदैन। उहाँले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई भेटेर हाम्रो कब्जा गरिएको अतिक्रमित भूमि छोड्न लगाउनुपर्छ। हाम्रो भूमि हामीले नै लिनुपर्छ।’
भारतको एक इन्च भूमि पनि नेपाललाई नचाहिने बताउँदै उनले दुवै राष्ट्रका प्रधानमन्त्री र प्राविधिकहरू बसेर सीमास्तम्भ गाड्नुपर्नेमा जोड दिए। उनले भने, ‘यस भूमि विवादमा हामीले धेरै दुःख खेप्यौँ। तर अब हाम्रा सन्ततिले दुःख भोग्न नपरोस् भन्ने मेरो कामना छ।’
त्यसैगरी, अर्का ५७ वर्षीय स्थानीयले पनि सुस्ताको विषय प्रधानमन्त्रीले भारतसमक्ष उठाउनुपर्ने माग गरेका छन्। सुस्तामा करिब एक बिघा क्षेत्रफलमा कुनै काम गर्न, उब्जनी गर्न तथा जोतपोत गर्नबाट वञ्चित हुँदै आएका उनले आफ्नो जग्गासमेत धेरै टाढा उखुबारीबाट हेरेर चित्त बुझाउनुपरेको गुनासो गरे।
एसएसबीले कब्जा गरेको जमिनको लालपुर्जा आफूसँगै रहेको बताउँदै उनले भने, ‘सुस्ताको समस्या धेरै छन्। भूमि समस्या छ। भारतीय सुरक्षा निकाय एसएसबीले बढी दुःख दिने र तर्साउने गर्दा उक्त स्थानमा स्थानीय र एसएसबीबीच पटक–पटक झडप हुने गरेको छ।’
आफूहरूले लगाएको उखुबाली एसएसबीका जवानले नष्ट गरेर क्षति पुर्याउने गरेको बताउँदै उनले भने, ‘प्रधानमन्त्री शाहभन्दा अघि प्रचण्ड र डा. बाबुराम भट्टराईले पनि यहाँको समस्या बुझेजस्तो गर्नुहुन्छ, तर फेरि भारत भ्रमणमा जाँदा बिर्सनुहुन्छ। अब प्रधानमन्त्री शाहले पनि भुल्नुहुनेछ।’
सुस्ता–५ कै ५२ वर्षीय श्यामसुन्दर कुर्मीले नारायणी नदीमा बाँध निर्माण गरिदिए स्थानीयवासी सुरक्षित हुने बताउँछन्। विवादमा परेको ठूलो क्षेत्रफल नारायणी नदीले कटान गरेर बगर बनाएको बताउँदै कुर्मीले भने, ‘तर अझै पनि सुस्ताको पूर्वतर्फ एसएसबीको टोली आएर दुःख दिन्छ। कुटपिट गर्छ। यो जग्गा तिमीहरूको होइन, हटिजाऊ भन्छन्। अनि गाउँलेहरूले विरोध गरेर रोक्छन्।’
सुस्तामा सानो सङ्ख्यामा सशस्त्र प्रहरीको क्याम्प र नेपाल प्रहरीको अस्थायी चौकी छन्। स्थानीयका अनुसार सुस्ताको कुल क्षेत्रफल ४० हजार ९८० हेक्टर छ। जसमध्ये १४ हजार ५०० हेक्टर क्षेत्रफल भारतले अतिक्रमण गरिसकेको छ। त्यसैगरी, अहिले पनि नेपाली लालपुर्जा कायम रहेको १९ हजार ४८० हेक्टर क्षेत्रफल विवादित छ। सुस्तावासीले भने हाल सात हजार हेक्टर क्षेत्रफलमा जोतभोग गरिरहेका छन्।
यस क्षेत्रमा गुरुङ, मगर, बाहुन, क्षेत्री, कुर्मी, मुसहर, मुस्लिम, हरिजनलगायत समुदायको बसोबास छ। भारत र नेपालको सीमाका रूपमा रहेको सिमलको नारायणी नदीले बगाएपछि भारतीय पक्षबाट दुःख दिने गरिएको उनीहरूको गुनासो छ।
यद्यपि, २०६२ सालदेखि नै सुस्तामा सशस्त्र प्रहरी बलको बीओपी राखिएको छ। जसका कारण सुस्तावासीले केही हदसम्म सुरक्षित महसुस गर्ने गरेका छन्।
















































