आर.पी. यादव । साझा न्यूज
कपिलवस्तु । कृषकहरुलाई सहज ढंगले मलखाद तथा विउ विजन उपलब्ध गराउन लुम्विनी प्रदेश सभाकी सदस्य सुषमा यादवले प्रदेश तथा केन्द्र सरकारसंग माग गरेकी छिन् । शनिवार पकडीमा स्थानीय संचारकर्मीहरुसंग कुरा गर्दै प्रदेश सभा सदस्य यादवले धान खेती गर्ने समय नजिकदै गर्दा कृषकहरुलाई आवश्यक पर्ने युरिया, डिएपी र पोटास जस्ता रसायनिक मलखादको सहज आपुर्तिका लागि दुवै तहका सरकारहरु सक्रिय हुनु पर्नेमा जोड दिएकी छिन् ।
कृषकहरुको यो समस्याका बारेमा आफुले प्रदेश सरकारको मन्त्रालयमा पटक पटक आग्रह गरिरहेको र केन्द्र सरकारलाई विभिन्न संचार माध्यय मार्फत् आग्रह गर्दै आएको बताईन् । सरकारले रसायनिक मलखादको वितरणका लागि साल्ट ट्ेडिंग कर्पोरेशन र कृषि सामाग्री कम्पनी लिमिटेडलाई जिम्मेवारी दिएको भन्दै यी दुई कम्पनीबाट सहकारी मार्फत् कृषकहरुलाई मलखाद वितरण गर्ने प्रावधान छ ।
तर कृषकहरुलाई आवश्यक पर्ने मात्रामा सहकारीहरुले मलखाद पाएका छैनन्, “प्रदेश सभा सदस्य यादवले भनिन्, सहकारीहरुले पनि उचित न्युन मुनाफा राखेर कृषकलाई मलखाद विक्री गर्नु पर्छ ।” सहकारीले बढि मुल्य लिएर मलखाद विक्री वितरण गर्दै आएको सूचनाहरु पनि बाहिर आएको हुंदा यस सम्वन्धमा स्थानीय प्रशासनले छड्के चेकचांज गरी कालो बजारी गर्ने सहकारी संस्थाहरुलाई कारवाही गरिनु पर्ने प्रदेश सभा सदस्य यादवले बताईन् ।
लामो निषेधाज्ञाको मारमा परेका कृषकहरुलाई धान खेतीका लागि आवश्यक पर्ने विउ विजन र मलखाद भारतीय सीमावर्ती बजारहरुबाट ल्याउदा स्थानीय सुरक्षाकर्मीहरुबाट दुख दिने काम नगर्न पनि प्रदेश सभा सदस्य यादवले स्थानीय प्रशासनसंग आग्रह गरेकी छिन् ।