बुद्धले संसारलाई शान्ति, करूणा र सहअस्तित्वको सन्देश दिएको भूमि लुम्बिनीमा नेतृत्व नियुक्तिलाई लिएर फेरि विवाद चर्किएको छ।
आनी छोइङ डोल्मालाई विकास कोषको उपाध्यक्ष नियुक्त गर्ने सरकारको निर्णयविरूद्ध आन्दोलन गरिरहेको लुम्बिनी बचाउ महाअभियानका संयोजक अक्राम खान र अर्का अभियानी वाजिउद्दिन मुसलमानलाई प्रहरीले पक्राउ गरेपछि प्रहरी प्रशासन र स्थानीयका बीचमा असन्तुष्टि र टकराव बढेको हो।
लुम्बिनी विश्वभरका बौद्ध मार्गी शान्ति, करूणा र अहिंसाको सन्देश खोज्दै आउने ठाउँ गौतम बुद्धको जन्मस्थल भएकै कारण यसको महत्त्व विश्वभर फैलिएको छ।
तर यही शान्ति भूमि पछिल्ला वर्षहरूमा पदाधिकारी नियुक्तिमा अशान्त बन्न थालेको छ।
लुम्बिनीको विकास, संरक्षण र व्यवस्थापनका विषयभन्दा यहाँ नियुक्त भएर आउने पदाधिकारी र कर्मचारी भर्नामा स्थानीयदेखि केन्द्रसम्मको चासो हुने गर्छ।
पछिल्लो पटक गत असोज ३० गते सरकारले गायिका तथा बौद्ध भिक्षुणी आनी छोइङ डोल्मालाई लुम्बिनी विकास कोषको उपाध्यक्षमा नियुक्त गर्ने निर्णय गरेपछि सुरू भएको विरोध प्रदर्शन अहिले प्रहरी गिरफ्तारीसम्म पुगेको छ।
नियुक्ति बदरको माग गर्दै आन्दोलन गरिरहेको लुम्बिनी बचाउ महाअभियानका संयोजक अक्राम खान र अर्का अभियानी वाजिउद्दिन मुसलमानलाई रूपन्देही प्रहरीले सोमबार साँझ पक्राउ गरेपछि विरोध भइरहेको हो।
लुम्बिनी सांस्कृतिक नगरपालिका–९ का बासिन्दा समेत रहेका लुम्बिनी बचाउ महाअभियानका संयोजक ६१ वर्षीय खान र ३३ वर्षीय मुसलमानलाई रूपन्देही प्रहरीले सोमबार साँझ पक्राउ गरेको थियो।
















































