राष्ट्रिय मानव अधिकार आयोगले यातनाका घटनामा संलग्न दोषीलाई कानूनी दायरामा ल्याउन सरकारलाई आग्रह छ । यातनापीडितहरुको सहयोगसम्बन्धी आज अन्तर्राष्ट्रिय दिवसका दिन आयोगले अपराधजन्य काम कहि कतैबाट पनि नगर्न, नगराउन, यातनाका घटनामा संलग्न दोषीलाई कानूनी दायरामा ल्याउन विज्ञप्तिमार्फत् आग्रह गरेको हो ।
पछिल्लो समयमा व्यक्तिलाई पक्राउ गरी जुम्ला, रौतहट, चितवनलगायतका जिल्लाहरुमा यातनाका कारण मृत्यु भएको भनी उजुरी आएको आयोगले जनाएको छ । अनुगमनको क्रममा देशका सबैजसो कारागारमा क्षमता भन्दा बढी कैदीबन्दी राख्दा सरसफाइ, खानेपानीलगायत सामास्या रहेकोसमेत आयोगले जनाएको छ ।
सशस्त्र द्वन्द्वको समयमा यातनाबाट हजारौं व्यक्ति पीडित भएको भन्दै आयोगले पीडितलाई क्षतिपूर्ति र दोषीलाई कारबाहीको लागि सरकारलाई सिफारिस गरेको आयोगले स्मारण गरेको छ । नेपालले यातना दिने कार्य नियन्त्रण गर्ने सम्बन्धमा अन्तर्राष्ट्रिय मञ्चहरुमासमेत पटक–पटक प्रतिबद्धता व्यक्त गर्दै आएको आयोगद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।