बाँके जिल्लामा कोरोना सङ्क्रमित भेटिने दर शून्यमा झरे पनि बाहिरी जिल्लाबाट उपचारका लागि गम्भीर सङ्क्रमितहरु आउने क्रम जारी नै छ ।
उपचारका लागि नेपालगञ्जस्थित भेरी अस्पतालमा भर्ना गरिएका दैलेख, प्युठान र दाङका ३ जना सङ्क्रमितको उपचारकै क्रममा सोमबार बिहान मृत्यु भएको छ ।
जिल्ला कोभिड व्यवस्थापन समिति बाँकेका अनुसार असार १३ गते भेरी अस्पतालमा भर्ना भएका झिमरुक ३ प्युठानका ३८ वर्षीय पुरुष, असार ४ गते भेरी अस्पताल भर्ना भएका घोराही ११ दाङका ६८ वर्षीय पुरुष र असार १० गते भेरी मै भर्ना भएका आठबिसकोट ४ दैलेखका ७३ वर्षीय पुरुषको सोमबार बिहान मृत्यु भएको हो ।
योसँगै बाँकेमा उपचाररत बाहिरी जिल्लाका सङ्क्रमितको मृत्यु हुनेको सङ्ख्या ३६१ पुगेको जिल्ला कोभिड व्यवस्थापन समिति बाँकेका फोकल पर्सन तेज ओलीले बताउनुभयो ।
उहाँले विगत केहिदिनदेखि बाँके जिल्लाका कुनै सङ्क्रमितको मृत्यु नभएको र हाल आएर कोरोना सङ्क्रमण समेत शून्यमा झरेको बताउनुभयो । कोरोनाको दोस्रो लहर सुरु भएपछि आइतबार बाँकेमा कसैलाई पनि सङ्क्रमण पुष्टि नभएको जनाउँदै उहाँले तर सावधानी भने अझै केही दिन अपनाउनुपर्ने बताउनुभएको छ ।