कपिलवस्तु । असोज २२ नेपाल निर्माण व्यवसायी महासंघका पूर्वकेन्द्रीय अध्यक्ष स्वर्गीय शरदकुमार गौचनको नवौँ पुण्यतिथिका अवसरमा कपिलवस्तु निर्माण व्यवसायी सङ्घले आज फूलमाला अर्पण गर्दै उहाँको योगदानको स्मरण गरेको छ।
कार्यक्रममा सहभागी निर्माण व्यवसायीहरूले स्वर्गीय गौचनले निर्माण क्षेत्रको विकास, व्यवसायीहरूको हकहित र संस्थागत सुदृढीकरणका लागि पुर्याउनुभएको योगदानको चर्चा गर्दै उहाँप्रति श्रद्धाञ्जली व्यक्त गरेका थिए।
कार्यक्रमका प्रमुख अतिथि तथा सङ्घका सल्लाहकार पशुपति प्रसाद गुप्ताले स्वर्गीय गौचनले निर्माण क्षेत्रमा पुर्याउनुभएको योगदान उल्लेखनीय रहेको बताउँदै उहाँले देखाउनुभएको मार्गमा आफूहरू अघि बढिरहेको उल्लेख गर्नुभयो। उहाँको विचार, योगदान र कार्यशैली निर्माण व्यवसायीहरूका लागि सधैँ प्रेरणाको स्रोत रहने उहाँको भनाइ थियो।
सङ्घका अध्यक्ष सरोजकुमार अर्यालले स्वर्गीय गौचनले देखाउनुभएको मार्गलाई आत्मसात् गर्दै निर्माण क्षेत्रको विकास र व्यवसायीहरूको हितका लागि अघि बढ्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। उहाँले गौचनको योगदानलाई स्मरण गर्दै उहाँले देखाउनुभएको बाटोमा हिँड्नु नै सच्चा सम्मान हुने धारणा राख्नुभयो।
त्यस्तै, सङ्घका निवर्तमान अध्यक्ष कुञ्जनकुमार गुप्ताले स्वर्गीय गौचनको बाल्यकाल कपिलवस्तु जिल्लाको सदरमुकाम तौलिहवामै बितेको स्मरण गर्दै उहाँसँग कपिलवस्तुको विशेष सम्बन्ध रहेको बताउनुभयो। उहाँले गौचनले देखाउनुभएको मार्गदर्शनलाई पछ्याउँदै निर्माण व्यवसायीहरू अघि बढिरहेको उल्लेख गर्नुभयो।
सङ्घका सल्लाहकार पशुपति प्रसाद गुप्ताको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा निवर्तमान अध्यक्ष कुञ्जनकुमार गुप्ता, महासचिव शिवदयाल ठाकुर, संस्थापक सदस्य अजाद अहमद दर्जी, कार्यसमिति महासचिव शिवदयाल ठाकुर सचिव रमेश मिश्र कोषाध्यक्ष लालमोहर तेली, सदस्य पवनकुमार अग्रहरिलगायतको उपस्थिति रहेको थियो।
कार्यक्रममा स्वर्गीय गौचनको योगदानको स्मरण गर्दै उहाँले निर्माण क्षेत्रमा स्थापित गर्न खोज्नुभएको मूल्य, मान्यता र आदर्शलाई निरन्तरता दिने प्रतिबद्धतासमेत व्यक्त गरिएको थियो।
















































