-नागोया (जापान)
यतिबेला जापानमा रहेका एनआरएनएको बाह्रै वटा क्षेत्रिय समितिको अधिवेशन सकिएको छ । सामाजिक सञ्जालभरि बधाई दिनेको ओइरो नै लागेको देख्न सकिन्छ। भष्ट्राचारमा डुबुल्की मारेको एनआरएनए जापानमा पनि नेता बन्ने तँछाडमछाड चलिरहेको छ । नागोया क्षेत्रिय समितिको गाइजात्रे कथा भने बेग्लै छ। जुन अहिलेसम्म पनि निरन्तर चलिरहेको छ।
जापानमा रहेको १२ वटा क्षेत्रिय समितिमध्ये नागोयाबाहेक सबै क्षेत्रमा सर्वसहमत नेतृत्व चयन भयो । नागोया सर्वसहमतको त कुरै छोडौँ एक पक्षले उमेदवारी दर्ता प्रकृया नियमसंगत नभएको भन्दै निर्वाचन बहिस्कार गर्दै गंगा घर्ती मगरको संयोजकत्वमा नागोया क्षेत्रिय समिति गठन भयो । निर्वाचन समितिले पनि आफ्नो कार्यतालिकाअनुसार निर्वाचन गरायो । मनोज बम मल्ल लगायतको टिमलाई निर्वाचित घोषणा गऱ्यो ।
यतिबेला नायोमा क्षेत्रिय समिति दुई वटा छन् । दुवै समितिले आ-आफ्नै तरिकाले गतिविधि गरिरहेको छन् । क्षेत्रलाई दिशानिर्देश गर्ने एनआरएनए जापान भष्ट्राचारमा डुबेर आइसीसीद्वारा निलम्बनमा परेको अवस्था छ । दुवै समितिले आफ्नै पाराले गतिविधि गरिरहेका छन् । सञ्चारकर्मीलाई पनि मल्ल समूह अनि घर्ती समूह भनेर समाचार लेख्नु परेको छ । विदेशमा ज्ञान अनि धन आर्जन गर्न आएका हामी पदका लागि एकले अर्कालाई खुल्याउन पनि तयार भएको देख्दा यो भन्दा ठूलो गाइजात्रा के हुन्छ र ?
आफ्नो नेतृत्वमा नागोया क्षेत्रिय समिति गठनपछि पहिलो काम मेलम्चीमा बाढीपीडितलाई राहत संकलन गरी हस्तान्तरण गरिएको घर्ती समूहका संयोजक गंगा घर्ती मगरले बताएका छन् । त्यस्तै चितवन जिल्लाको वीरेन्द्रनगर २, घर भइ फुकुओकामा बस्दै आएकी अन्जु लामा दुवै मृगौला फेल भइ हाल अस्पतालमा भर्ना भएर उपचार गराइरहेको र आर्थिक अभावका कारण समस्या परेकोले आर्थिक संकलन गरी हालै मात्र हस्तान्त्ररण गरिएको घर्ती मगरले बताए ।
त्यस्तै, मल्ल समूहले पनि मेलम्ची बाढीपीडितको लागि भन्दै सामाजिक सञ्जालमार्फत आर्थिक संकलन गरेको छ, जसको नेतृत्व उप–संयोजक कृष्ण गौतमले गरेका छन् । उक्त संकलित रकम नेपाल पठाउने तयारी भइरहेको बताइएको छ । त्यसबाहेक हालै आफूहरुले नागोयामा रक्तदान कार्यक्रम सम्पन्न गरेको मल्ल समूहका संयोजक मनोज बम मल्लले बताए ।
त्यस्तै नागोयामा नेपालीको लागि जुलाई ४ तारिकबाट जापनिज भाषा कक्षा संचालन गर्ने, एनआरएनए नागोयाको कार्यलय राख्ने निश्चित भएको, त्यसपछि हटलाइन नम्बर पनि आउने मल्लको भनाइ छ। त्यस्तै पासपोर्ट बनाउन परेमा एनआरएनए नागोयाले सहजिकरण गर्ने उनले बताए।
जापानमा रहेका बाह्र वटा क्षेत्रिय समितिमध्ये नागोया पहिलो क्षेत्रिय समिति हो । धेरै नेपाली रहेको शहरमध्ये नागोया तेश्रो स्थानमा पर्छ । यहाँ केही व्यवशाय गर्दै आएकाहरुको अहम्ताका कारण यस्तो समस्या आएको जानकारहरु बताउँछन् । नागोयामा एनआरएनए केन्द्र अनि अन्तराष्ट्रिय रुपमा प्रतिनिधि गर्ने दर्जनौँको संख्यामा रहेका छन् । कोही अझै अगाडि बढ्ने तयारीमा लागेका छन् । आफूरहेको क्षेत्र त मिलाउन नसक्ने यिनीहरुबाट आश गर्न नसकिने धेरैको धारणा रहेको छ । उनीहरु नेतृत्वमा जाने हो भने पहिला आफु रहँदै आएको क्षेत्रको विवाद मिलाउन जरुरी छ ।
नागोयामा रहँदै आएका एनआरएनए जापानका उपाध्यक्ष रहेका दीपक कार्कीले अध्यक्षमा उमेदवारी घोषणा गरेका छन् । त्यस्तै वर्तमान सचिव विष्णुप्रसाद घिमिरेले उपाध्यक्ष र कार्य समिति सदस्य बाबुराम खरेलले सहकोषाध्यक्षमा उमेदवारी घोषणा गरिसकेका छन् । त्यस्तै लामो समय नागोयामा व्यवशाय गर्दै आएका राजकुमार अधिकारीले पनि उपाध्यक्षमानै उम्मेदवारी घोषणा गरिसकेका छन् । यस्तै, एनआरएनए नागोयाका निवर्तमान संयोजक श्याम शितल एनआरएनए जापानको सचिवमा उठ्ने तयारीमा छन् । अन्यको पनि उमेदवारी घोषणा गर्ने क्रम जारी छ।
नागोयामा व्यवशाय गर्दै आएका एनआरएनए एशिया प्यासिफिकका संयोजक गोविन्द श्रेष्ठ आईसिसिको पदाधिकारी र उपसंयोजक पारसमणि पोखरेल एशिया प्यासिफिक संयोजकमा उठ्ने चर्चा छ । त्यस्तै दर्जनौँ एनआरएनका विभिन्न पदहरुमा रहेका व्यक्तिहरु पनि नागोयामा नै छन्, जसमध्ये एनआरएनए आईसिसि मानर्थ सदस्य डिलाराम खरेल, आईसिसि सदस्य दीपक घिमिरे एनआरएनए जापानका पूर्वमहासचिव डा. सुदिप अधिकारी, पूर्वसचिव डा. सरोज कँडेल, एनआरएनए जापानका पूर्वप्रवक्ता सन्देश पोख्रेल लगायत छन् ।
नागोयामा रहेका एनआरएनए एशिया प्यासिफिकका संयोजक गोविन्द्र श्रेष्ठ र उपसंयोजक पारशमणि पोखरेलबीच सम्बन्ध राम्रो छैन । त्यसै उपसंयोजक पारशमणि पोखरेल र एनआरएनए आईसिसि मानार्थ सदस्य डिलाराम खेरेलबीच पनि केही समयअगाडि आरोप-प्रत्यारोप चलेको थियो । पछिल्लो समय सामाजिक सञ्जालमार्फत एनआरएनए नागोयाका मल्ल पक्षका संयोजक मनोज बम मल्लले एशिया प्यासिफिक संयोजकसंग रुष्ट भएर लेखेका छन् । उनले भनेका छन्- ‘एसियामा कति वटा एनसिसि छन्, कहाँ-कहाँ अधिवेशन सकियो, कहाँ-कहाँ हुँदैछ भन्ने कुराको ज्ञान पनि नभएका एसियाको संयोजक सारा एसिया क्षेत्रको एनसिसिहरुलाई छाडेर सानो नागोया क्षेत्रको आधिकारिक कमिटीलाई भंग गर्न तल्लिन छन् । अनि त्यहीमाथि आईसिसिको उपाध्यक्षमा उठ्छु भन्दै विज्ञापन गर्दै हिँडेको देख्दा उदेक लागेर आउछ । लाजको पसारो, तिमीजस्ता पात्रहरु एनआरएनएमा हाबी भएर एनआरएनए दुर्गन्धित भएको हो । त्यो दुर्गन्ध र त्यस्ता पात्रहरुलाई हटाउन हामी युवाहरु आएका हौँ । सक्छौ भने रोकेर देखाओ ।’
उता नागोया क्षेत्रिय समितिका घर्ती मगर पक्षका गंगा घर्ती मगरले नागोयाको विवादको जड एसिया प्यासिफिक का उपसंयोजक पारशमणि पोखरेल भएको बताए । हालै मात्र नागोयाको दुवै समितिलाई मिलाएर अघि बढ्ने निर्णय हुँदै गर्दा अन्तिम समयमा पारशमणि पोखरेलले नै भाँडेको घर्ती मगरको जिकिर छ। दुवै संयोजकबीच एक-एक वर्ष संयोजक रहने गरी सहमति भएकोमा पछि भाँडिएको बताइएको छ । एनआरएनए नागोयाका निवर्तमान संयोजक श्याम शितलले नागोयाको पछिल्ला गतिविधिले लाजैमर्दो अवस्था बनाएको बताए । उनका अनुसार दुवै समितिलाई मिलाएर लैजाने सहमति भए पनि संयोजक पदमा मल्ल र घर्ती मगरले दाबी नछोडेकोले सहमति हुन नसकेको हो ।
-कविकिरण न्यौपाने