काठमाडौं । नेपाल पत्रकार महासंघले अदालतमाथि भएका अशोभनीय टिका–टिप्पणी र प्रधानन्यायाधीशको पुत्ला दहन गर्ने कार्यको समेत भर्त्सना गरेको छ।
सर्वोच्च अदालतको विघटित प्रतिनिधि सभा पुनः स्थापना गर्ने फैसलाको स्वागत गर्दै महासंघले विज्ञप्तिमा भनेको छ ‘स्वतन्त्र न्यायपालिकामाथि कुनै पनि पक्षबाट प्रहार गर्न हुँदैन भन्नेमा महासंघको प्रस्ट दृष्टिकोण रहँदै आएको छ।’
सर्वोच्च अदालतको सो निर्णयले संविधानको रक्षा हुनुका साथै लोकतान्त्रिक विधि र मूल्य, मान्यता पुनः स्थापना भएको महासंघको ठहर छ ।
महासंघका महासचिव रोशन पुरीद्वारा हस्ताक्षरित विज्ञप्तिमा पुनर्स्थापित प्रतिनिधि सभा र संसद्बाट निर्माण हुने सरकारले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता र नागरिक अधिकारको रक्षा गर्दै सञ्चार क्षेत्रको विकासमा महत्त्वपूर्ण योगदान पुर्याउने अपेक्षा महासंघको रहेको पनि उल्लेख छ।