-रामविकास चौधरी
बिहिबार मध्यरातिमा अधिवेशन अन्त्य गरेर लुम्बिनी प्रदेश सरकारले अध्यादेशबाट बजेट ल्याएको छ । सरकारले ल्याएको बजेट प्रदेशसभाबाट सहज ढङ्गले पास हुन नसक्ने भएपछि अध्यादेशबाट ल्याइएको हो ।
साउन १ गते शुक्रबार बिहान मुख्यमन्त्री निवासमा बसेको लुम्बिनी प्रदेश सरकार मन्त्रिपरिषदको बैठकले बजेटसम्बन्धी अध्यादेश स्वीकृत गरी प्रदेश प्रमुख समक्ष सिफारिस गरेको हो ।
मन्त्रिपरिषदले गरेको सिफारिस अनुसार प्रदेश प्रमुख धर्मनाथ यादवले अर्थ र विनियोजन अध्यादेश जारी गरेका छन् ।
प्रदेश सरकारका प्रवक्ता एवं आर्थिक मामिला तथा योजनामन्त्री बैजनाथ चौधरीले गत असार १ गते प्रदेशसभामा पेस गरेको बजेट जस्ताको त्यस्तै अध्यादेशमार्फत ल्याइएको बताएका छन् ।
प्रदेश सरकारले आर्थिक वर्ष २०७८- ७९ को लागि ४० अर्ब ९५ करोड ९७ लाख रुपैयाँको बजेट प्रदेशसभामा पेस गरेको थियो ।
बजेट पास गर्न सरकारसँग बहुमत नपुगेपछि बिहीबारको प्रदेशसभा बैठकबाट मुख्यमन्त्रीसहित सत्ता पक्षका मन्त्री र सांसदहरू बजेट निर्णयार्थ पेस हुनुअगावै प्रदेशसभा बैठकबाट बाहिरिएका थिए ।