काठमाडौं । नेकपा एमालेको माधव कुमार नेपाल समूहका नेताहरुको बैठक भचुर्अल माध्यममा शुरू भएको छ ।
यो बैठकमा विघटित पार्टी एकता कार्यदलका सदस्यहरुसहित नेपाल पक्षका सबै नेताहरु सहभागी रहेको बताइएको छ ।
प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिएको विषयमा खटपट शुरू भएको उक्त समूहको आजको बैठक निर्णायक भनिएको छ ।
विश्वासको मत दिएका २२ सांसदलाई एमालेले स्पष्टिकरण सोध्ने निर्णय गरेका छन् । विश्वासको मत दिने नदिने सबै नेताहरु उपस्थित उक्त बैठकमा सम्भवतः पार्टी फुटाएर अघि बढ्ने कि एमालेमै रहेर संघर्ष जारी राख्ने भन्नेमा निर्णायक हुने बताइएको छ ।
नेपालले मंगलबार देउवालाई विश्वासको मत दिने सांसदहरुसँग मात्रै लामो छलफल गरेका थिए।
उक्त बैठकमा केही दिनिभत्रै आफ्नो समूहमा बहुमत जुट्न सक्ने सम्भावना रहेकोले ओलीलाई अध्यक्षबाट हटाउने रणनीतिका साथ अघि बढ्नेसम्मको छलफल भएको थियो।
बैठकमा नेता मेटमणि चौधरीले ओली समूह त्यागेर धेरै सांसदहरु आफ्नो समूहमा आउने तयारीमा रहेको दाबी गरेका थिए।
नेत्री रामकुमारी झाँक्रीले पार्टीलाई एक बनाउने हो भने केपी शर्मा ओलीले अध्यक्ष पद त्याग्नै पर्ने अडान लिएकी छन्। प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिएका नेपाल समूहका सांसदको आज भएको बैठकपछि पत्रकारहरुसँग बोल्दै झाँक्रीले यसो भनेकी हुन्।
सर्वोच्च अदालतले संविधानको धारा ७६ (५) अनुसार अर्को दलका प्रधानमन्त्रीलाई विश्वासको मत दिने सांसदहरुलाई कारबाही गर्न नमिल्ने भनेर व्याख्या गरेकाले एमालेले आफूहरुलाई स्पष्टीकरणको चिठी नपठाएको हुन सक्ने उनले बताइन्।
उनले भनिन्, ‘सर्वोच्च अदालतको फैसलाका कारण हामीलाई अध्यक्ष ओलीले चिठी नपठाउनुभएको हुन सक्छ। यदि चिठी पठाएमा पनि हामी राजनीतिक हिसाबले प्रतिकार गर्छौँ, सर्वोच्चको आदेशले चिठी नपठाउनु भएको होला। कानुनी रुपमा लडाइँ लड्नुपर्ने हो भने पनि हामी लड्न तयार छौँ।’