विप्लव नेतृत्वको नेकपा रुकुम पश्चिमले एकजना जनप्रतिनिधिलाई कालोमोसो दलेको छ । सो पार्टीको सानोभेरी गाउँ समितीका सेक्रेटरी शिव विकले आज एक प्रेस बिज्ञप्ति जारी गर्दै सानोभेरी गाउँपालिका–८ का वडा अध्यक्ष शशिराम बुढाथोकीलाई कालोमोसो दलेर कार्वाही गरेको बताएका छन् ।
विज्ञप्तिमा छहरेपानी तल्लो आमडाँडा सिचाइ आयोजना उपभोक्ता समितिबाट रु. ३,००,००० (रु.तीन लाख) भ्रष्टाचार गरेको स्थानीयको उजुरीका आधारमा छानबिन गर्दा भ्रष्टाचार गरेको पुष्टी भएकोले कालोमोसो र जुत्ताको माला लगाइ जनकारबाही गरिएको विज्ञप्तिमा उल्लेख गरिएको छ ।
विज्ञप्तिमा भ्रष्टाचार गरेको रकम तुरुन्त उपभोक्ता समितिलाई फिर्ता गर्न चेतावनी मूलक निर्देशन दिइएको छ भने उक्त रकम समितिलाई फिर्ता नगरेमा र यस्तै हर्कत जारी राखे थप कार्वाही गर्न बाध्य हुने बताइएको छ ।
विज्ञप्तिको पूर्णपाठ :
दलाल संसदीय व्यवस्थाको दुष्चक्र, यसका दुष्प्रभाव र कथित जनप्रतिनिधि भनिनेहरुका असारे तथा डोजरे विकास मोहले कथित विकास निर्माणका नाममा विकृति, विसंगति, बेथिति, विनास, र भ्रष्टाचार दिन प्रतिदिन बढिरहेको छ । रुकुमका जनप्रतिनिधि भनिने हरुका पछिल्ला क्रियाकलाप त झन मैमत्त साँढे भन्दा कुनै हिसाबमा कम छैनन् भन्ने कुरा रुकुमका राजनैतिक परिदृष्यमा दिनको घाम जति कै छर्लङ्ग छ । फरक बिचार र आस्थाप्रति निषेधात्मक प्रतिशोधि अराजनैतिक दुव्र्यवहार गर्नु, सबै जसो विकास निर्माणका कामहरु आफ्नै कार्यकर्ता तथा नालनाताको नेतृत्व र सहभातिमा गर्नु गराउनु, विभिन्न शिर्षक उपशिर्षकमा रकमकलम हिनामिना गर्नु हालका दिनचर्या नै हुन् ।
यसै सन्दर्भमा सानिभेरी गाउँपालिका वडा न.८ का वडा अध्यक्ष शशिराम बुढाथोकीले छहरेपानी तल्लो आमडाँडा सिचाइ आयोजना उपभोक्त समिति बाट ३,००,००० (तीन लाख) भ्रष्टाचार गरेको स्थानीयको उजुरी पश्चात सो विषयमा मिहिन अध्ययन अनुसन्धान गर्दा निज बुढाथोकीले भ्रष्टाचार गरेको पुष्टि हुन आएकोले हाम्रो पार्टी निज बुढाथोकीलाई कालोमोसो र जुता माला लगाइ जनकारबाही गरिएको छ । निज बुढाथोकीलाई उक्त रकम तुरुन्त उपभोक्ता समितिलाई फिर्ता गर्न यसै विज्ञप्ति मार्फत चेतावनी मूलक निर्देशन गर्दछौं । उक्त रकम समितिलाई फिर्ता नगरे र यस्तै हर्कत जारी राखे थप कार्वाही गर्न बाध्य हुने व्यहोरा पनि सुचित गराउँदछौं ।
क्रान्तिकारी अभिवादन सहित ।
शिव विक
सेक्रेटरी
सानिभेरी गाउँसमिति रुकुम–९ पश्चिम रुकुम ।