कपिलवस्तुको कृष्णनगरबाट भारततर्फ लैजाँदै गरेको अवस्थामा प्रहरीले चरेस र अफिमसहित पाँच महिलालाई पक्राउ गरेको छ।
कृष्णनगर नगरपालिका–२ पुरानो बसपार्क क्षेत्रमा गस्ती गरिरहेको प्रहरी टोलीले नेपालबाट भारततर्फ जाँदै गरेका पाँच जनालाई रोकी जाँच गर्दा उनीहरूको साथबाट १५ किलोभन्दा बढी लागुऔषध बरामद गरेको हो।
जाँचका क्रममा उनीहरूको साथबाट चरेसजस्तो देखिने कालो गिलो पदार्थ पाँच किलो २२५ ग्राम र अफिमजस्तो देखिने गिलो पदार्थ १० किलो बरामद गरिएको प्रहरीले जनाएको छ। उनीहरूका साथबाट पाँच थान मोबाइलसमेत नियन्त्रणमा लिइएको छ।
पक्राउ पर्नेमा दाङका रजिता रोकाय र विमला पुन, कपिलवस्तुका पनिसरा सारु र नन्सरी घर्ती मगर, पर्साका चुमा लामिछाने छिन्।
जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रिपेन्द्रकुमार सिंहका अनुसार पक्राउ परेकामाथि लागुऔषधसम्बन्धी कसुरमा अनुसन्धान अघि बढाइएको छ। बरामद पदार्थको परीक्षण तथा घटनासँग सम्बन्धित अन्य व्यक्ति र सम्भावित सञ्जालबारे अनुसन्धान भइरहेको उनले बताए।
















































