कपिलवस्तु । कपिलवस्तु क्षेत्र नं. ३ का सांसद अभिषेक प्रताप शाहले नेपालको आर्थिक समृद्धिका लागि भारतसँग आर्थिक सहकार्य अपरिहार्य रहेको बताउनुभएको छ ।
नेपाल र भारतबीचको आर्थिक सम्बन्ध तथा सहकार्यको आवश्यकताबारे सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै सांसद शाहले नेपालको अर्थतन्त्रलाई तीव्र गतिमा अगाडि बढाउन भारतको बजार, लगानी र आर्थिक विकाससँग जोड्नुपर्ने बताउनुभएको हो ।
उहाँले नेपालका अर्थमन्त्री स्वर्णिम वाग्लेले नेपाल–भारत आर्थिक सम्बन्ध र सहकार्यको आवश्यकताबारे व्यक्त गर्नुभएको विचारलाई समर्थन गर्दै दुई देशबीचको आर्थिक सहकार्यले नेपालको समृद्धिमा योगदान पुर्याउन सक्ने उल्लेख गर्नुभएको छ ।
सांसद शाहले भारतसँग आर्थिक सहकार्यको पक्षमा बोल्नुलाई राष्ट्रविरोधी दृष्टिकोणबाट हेर्न नहुने धारणा व्यक्त गर्नुभएको छ । उहाँले भारतसँगको व्यापार विस्तार, लगानी आकर्षण र आर्थिक एकीकरणलाई नेपालको विकासका सम्भावित आधारका रूपमा प्रस्तुत गर्नुभएको छ ।
नेपालमा भूकम्प, प्राकृतिक विपत्ति तथा अन्य सङ्कटका बेला भारतले गरेको सहयोगको स्मरण गर्दै उहाँले दुई देशबीचको सम्बन्धमा सहकार्य र सद्भावको महत्त्व रहेको उल्लेख गर्नुभएको छ ।
भारतले पूर्वाधार निर्माण, औद्योगिक विस्तार र आर्थिक विकासमा हासिल गरेको प्रगतिबाट नेपालले पनि लाभ लिन सक्ने अवसर खोज्नुपर्ने सांसद शाहको भनाइ छ ।
उहाँले नेपालको समृद्धि छिमेकी मुलुकसँगको सम्बन्धलाई सुमधुर बनाउँदै सम्मानजनक सहकार्य, व्यापार विस्तार र लगानी प्रवर्द्धनमार्फत अघि बढाउन सकिने धारणा व्यक्त गर्नुभएको छ ।
राष्ट्रवादको अर्थ छिमेकीसँग शत्रुता बढाउनु नभई राष्ट्रिय हितलाई केन्द्रमा राखेर व्यावहारिक निर्णय लिनु भएको उल्लेख गर्दै सांसद शाहले नेपालको आर्थिक हितका विषयमा तथ्यपरक बहस गर्नुपर्नेमा जोड दिनुभएको छ ।
















































