बुटवल । जनता समाजवादी पार्टी जसपाले लुम्बिनी प्रदेशसभाका तीन जना सदस्यलाई निष्कासन गरेको पत्र प्रदेशसभा सचिवालयलाई जानकारी गराएको छ ।
महन्थ ठाकुर पक्षमा रहेका सांसदहरु सन्तोषकुमार पाण्डेय, विजयबहादुर यादव र कल्पना पाण्डेयलाई वर्तमान सरकारलाई साथ दिएको भन्दै निष्काशन गरिएको हो ।
पार्टीले लगाएको ह्वीप उल्लंघन गरेपछि उनीहरुलाई गत जेठ ३० गते स्पष्टीकरण सोधिएको र त्यसको चित्तबुझ्दो जवाफ नदिएकाले राजनीतिक दलसम्बन्धी ऐन २०७३ अनुसार कारबाही गरेको यादवले उल्लेख गरेका छन् ।
पार्टी निर्णय विपरीत जसपाका चार सांसद प्रदेश सरकारमा सहभागी भएका थिए । तर तीमध्ये सुमन शर्मा रायमाझीले सरकारबाट राजीनामा दिएकी थिइन् । उनले पार्टी निर्देशन अनुसार नै चल्ने प्रतिबद्धता जनाएका कारण कारबाही नगरिएको यादवले बताएका छन् ।
११ साउनमा जसापाको आधिकारिकता उपेन्द्र यादवले पाएपछि बसेको बैठकले उनीहरुलाई कारवाही गर्ने निर्णय गरेको थियो ।

