–गोपाल भण्डारी, कपिलवस्तु
कपिलवस्तु जिल्लामा नागरिकताको प्रमाणपत्र लिन सर्वसाधारणहरुको भीड बढेको छ । स्थानीय प्रशासनले निषेधाज्ञालाई खुकुलो बनाई सरकारी कार्यालयबाट सेवा प्रवाह गर्न शुरु गरे पछि लामो समय देखि नागरिकता बनाउने प्रतिक्षामा रहेका सर्वसाधारणको भीड बढेको हो ।
आफ्ना बालबालिकाहरुको जन्मदर्ता बनाउनका लागि विवहा दर्ता आवश्यक रहेको र विवहा दर्ताका लागि नागरिकता आवश्यक भएको कारण पनि नागरिकताको प्रमाणपत्र लिनेहरुको भीडबढेको हो ।
यसै गरी उमेर पुगेर वंशज नागरिकता लिने र वैवाहिक अंगीकृत नागरिकता लिने महिलाहरुको संख्या पनि बढेको छ । नागरिकताको प्रमाणपत्रलिन सर्वसाधारणहरुलाई २/३ दिन लगातार जिल्ला प्रशासन कार्यालय धाई रहेका छन् । नागरिकताको प्रमाणपत्र लिन सर्वसाधारणहरु सवेरै देखि घण्टौं सम्म लाईन लगाएर बस्न बाध्यछन् ।
साप्ताहिक रुपमा गाउंपालिका अनुसारको दिन तोकेर र कार्यालयमा कर्मचारीको संख्या बढाएर नागरिकलाई सहज ढंगबाट नागरिकता वितरण गर्ने व्यवस्था मिलाउन स्थानीय नागरिक अगुवा रवि ठाकुरले स्थानीय प्रशासनसंग ले माग गरेका छन् ।
राज्यले सहजढंगबाट आफ्ना नागरिकहरुलाई नागरिकताको प्रमाणपत्र प्रदान गर्ने व्यवस्था गर्नु पर्ने हो । तर नागरिकता लिनकै लागि नागरिकहरु यस्तो सास्ती भोग्न बाध्यछन् ।
कोभिड संक्रमणकालका बेला भीड भाड गर्न नहुने भन्दै निषेधाज्ञा आदेश जारी गर्ने जिल्ला प्रशासन कार्यालयकै सेवा लिनका लागि यस्तो भीडभाड हुनु निकै लज्जास्पद अवस्था देखिएको छ । कोभिड संक्रमणबाट बच्न भौतिक दुरी कायम गरिनु पर्ने, सेनिटाईजरको प्रयोग गर्ने, भीडभाड नगर्ने जस्ता स्वास्थ्य सतर्कताका कुनै उपायहरु जिल्ला प्रशासन कार्यालय परिसरमै अवलम्वन भएको छैन । -साझा न्यूज साप्ताहिकबाट
















































