काठमाडौँ । सरकारले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्र देव शाक्यसँग राजीनामा मागेको छ । प्रधानमन्त्री शेरबहादुर देउवा र ऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्री पम्फा भुसालले शाक्यलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बोलाएर मंगलबार अपराह्न राजीनामा मागेका हुन् ।
‘कार्यकारी निर्देशक हितेन्द्र देव शाक्यलाई मन्त्रिपरिषद्को कार्यालयमा बोलाएर १२ बजेतिर ऊर्जामन्त्रीसमेतको उपस्थितिमा सरकारले राजीनामा मागेको हो,’ ऊर्जामन्त्री भुसालको सचिवालयका एक सदस्यले भने ।
यसबारे जानकारी लिन खोज्दा प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्र देव शाक्यको मोबाइलमा सम्पर्क हुन सकेन ।
चर्को आलोचनाका बीच प्रधानमन्त्री केपी शर्मा ओलीले हितेन्द्रदेव शाक्यलाई कार्यकारी निर्देशक बनाएका थिए । ओली सरकार ढलेपछि बनेको नयाँ सरकारले शाक्यको राजीनामा मागेको हो ।
सरकारले कुलमान घिसिङलाई नै प्राधिकरणमा ल्याउने तयारी गरेको बुझिएको छ ।
















































