काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले बिहीबारको प्रतिनिधिसभा बैठकमा माओवादी केन्द्रका सांसद मात्रिका यादवले एमाले अध्यक्ष केपी शर्मा अोलीको स्वास्थ्यलाई लिएर गरेको टिप्पणी संसदको रेकर्डबाट हटाउन रुलिङ गरेका छन् ।
विहिबारको बैठकमा परमादेशको सरकार भन्ने ओलीलाई सांसद पदबाट राजीनामा दिएर बस्न आग्रह गर्दै भनेका थिए, परमादेश भन्ने अनि जनादेशको अपमान गर्ने ? ज(जसलाई लागेको छ, राजीनामा दिए हुन्छ । यो सरकारले ६ महिनामा चुनाव गराइदिइहाल्छ ।’जसको मेन्टल्ली बिग्रेको छ त्यसले भन्छ परमादेश।’
उनले ओलीलाई ‘मेन्टल्ली र फिजिकल्ली डिसअर्डर’ रहेको बताएका थिए । त्यसपछी एमाले प्रमुख सचेतक विशाल भट्टराई, मोतिलाल दुगड लगायतले नियमापत्ति जनाएका थिए ।
भट्टराईले यादवले एमाले संसदीय दलका नेता तथा पूर्व प्रधामन्त्री ओलीको स्वास्थ्यलाई लिएर दिएका अभिव्यक्ति असंसदीय भएको र कुनै हालतमा स्वीकार्य नहुने भन्दै रेकर्डबाट हटाउन माग गरेका थिए ।
सो अभिव्यक्ति हटाउन माग गर्दै सदन शुरु हुनासाथ आपत्ति जनाएपछि सभामुखले यादवले बोलेका शब्द संसदीय मर्यादा र नियमावलीविपरीत रहेको भन्दै संसदको रेकर्डबाट हटाउन सचिवालयलाई निर्देशन दिएका हुन् ।
















































