वासिङ्टन ।काबुलस्थित अमेरिकी दूतावास बन्द गरेको छ । अफगानिस्तानबाट अमेरिकी सेना फिर्ताको काम सकिएपछि अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिंकेनले काबुलको दूतावास बन्द गरेको जानकारी दिएका हुन् ।
उनले अफगानिस्तान हेर्ने गरी काबुलको दूतावास कतारको दोहामा स्थानान्तरण गरिएको जानकारी दिए । उनले काबुलबाट अमेरिकी दूतावास कतारको दोहामा सारिएको र छिट्टै नै त्यसको जानकारी कंग्रेसलाई दिइने पनि बताए ।
अमेरिकी नागरिकलाई सम्बोधन गर्दै विदेशमन्त्री ब्लिंकेनले भने, ‘अफगानिस्तानबाट अमेरिकी सेनाको अन्तिम उडान सम्पन्न भएको छ । हाम्रा सबै सैनिकले अफगानिस्तान छाडिसकेका छन् । अब अफगानिस्तानँग अमेरिकी कूटनीतिक सम्बन्धले नयाँ अध्याय सुरु भएको छ । सैनिक अभियान पूरा भएको छ । अब एक नयाँ कूटनीतिक मिसन सुरु भएको छ ।’
उनले अफगानिस्तानबाट करिब १ लाख २३ हजार मानिसलाई सुरक्षित रुपमा उद्धार गरिएको पनि जानकारी दिए । त्यसमा करिब ६ हजार अमेरिकी सैनिक रहेको पनि उनले बताए ।