हङ्गेरीमा जन्मिएका अमेरिकी अर्बपति जर्ज सोरसलाई चीनका सञ्चारमाध्यमले अन्तर्राष्ट्रिय आतङ्ककारीको संज्ञा दिएको केही समयपछि चीन सरकारले पनि औपचारिक रूपमै आतङ्ककारी करार गरेको छ ।
चीनविरोधि प्रचार गरेको भनी उनलाई सरकारी मिडियाले ‘शैतान’ भनी लेखेका छन् । चीनविरुद्ध प्रचार गर्नका लागि सोरसले विश्वब्यापी रूपमै लगानी गरेको आरोप पनि चिनियाँ सञ्चारमाध्यमहरूले लगाएका छन् । हङकङबाट प्रकाशित हुने एउटा पत्रिकाका मालिकलाई आर्थिक सहयोग गरेको आरोप पनि सोरसमाथि लगाइएको छ ।
जर्जले जिम्मी ली नाम गरेका अखबारका प्रकाशकलाई बेइजिङविरोधि गतिविधिमा प्रयोग गरेको र सन् २०१९ को प्रदर्शनमा पनि सोरसकै आर्थिक लगानीले काम गरेको अखबारहरूले प्रकाशित गरेका छन् । चीनविरुद्धमा अफवाह फैलाएको भन्दै समाचार र लेखहरूका शीर्षकमै सोरसलाई ‘आर्थिक आतङ्कवादी’ भनी लेखिएको छ ।