साझा न्यूज । (तौलिहवा)कपिलबस्तु
संकलन गरिएका नागरिकका विवरणहरु मध्ये ३० लाख जनालाई यहि आर्थिक बर्षमा राष्ट्रिय परिचयपत्र वितरण गर्ने राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागका महानिर्देशक तिर्थराज भट्टराईले बताउनुभएको छ । कपिलबस्तुको तौलिहवामा राष्ट्रिय परिचय पत्रका लागि विवरण दर्ता अभियान सम्बन्धी अन्तरक्रिया तथा समन्वय कार्यक्रममा सो कुरा उहाँले साझा न्यूजसंग बताउनुभएको हो ।
कपिलबस्तुमा राष्ट्रिय परिचयपत्रका लागि विवरण दर्ता स्थानिय तहहरुमा गएर अभियानको रुपमा सुरु हुने महानिर्देशक भट्टराईले बताए । महानिर्देशक भट्टराई भन्नुभयो “कपिलबस्तु जिल्लामा सुरु हुने अभियानमा सक्रियता पूर्वक आआफ्नो पालिकामा गएर फोटो खिचाउन र विवरण दिन अनुरोध गर्दछु ।” जसलाई इपासपोर्ट आवश्यक छ त्यसलाई जिल्ला प्रशासनमा र जसलाई ईपासपोर्ट आवश्यक छैन् त्यसले पालिका वडामा आउने आभियानमा सहभागि हुने उहाँले बताउनुभयो ।
नेपालको ७७ वटै जिल्ला प्रशासन कार्यालयहरु र १७ वटा इलाका प्रशासन कार्यलय तथा अन्य २० इकाई स्थापना गरी नागरिकका विवरण कार्य भईरहेको महानिर्देशक भट्टराईले बताउनुभयो । जिल्ला प्रशासन कार्यालयमा रहेको इकाई र ५२ जिल्लामा अभियान संचालन गरी यो आर्थिक बर्षमा ७० लाख नागरिकको विवरण राष्ट्रिय परिचय सूचना व्यवस्थापन प्रणालीमा आवद्ध गर्न अभियानको सुरुवात गरिएको उहाँले बताउनुभयो ।
कार्यक्रममा प्रमुख जिल्ला अधिकारी चक्रपाणी पाण्डे, स्थानिय तहका प्रमुख, उपप्रमुख, प्रशासकिय अधिकृत, सुरक्षाकर्मी लगायतको सहभागिता रहेको थियो ।
















































