काठमाडौं । कानुन व्यवसायीले सर्वोच्च अदालतमा प्रदर्शन नगर्ने भएको छ । नेपाल बार एशोसिएसनले सर्वोच्च अदालत परिसरमा केन्द्रित आन्दोलन स्थगित गरेको हो ।
आफूहरुले अघि सारेको माग प्रारम्भिक रुपमा सम्बोधन भएको निष्कर्षका साथ बारले प्रदर्शनलाई नेपाल बार एशोसिएसनको प्राङ्गणमा सीमित गर्ने निष्कर्ष निकालेको हो । अब आफूहरुको मागलाई वैचारिक रुपमा अघि बढाउने भएको छ ।
प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले न्यायपालिकामा विकृति, विसंगति फैलाएकाले आफूहरुले बाध्य भएर सर्वोच्च अदालतमै नारावाजी र प्रदर्शन गर्नुपरेको बार उपाध्यक्ष रक्षा बस्यालको भनाई छ ।
बार एशोसिएसनका महासचिव लिलामणि पौड्यालले अब नेपाल बार एशोसिएसनका एजेण्डाहरुलाई वैचारिक रुपमा अघि बढाउने बताए । बारले संवैधानिक परिषदमा प्रधानन्यायाधीशको संलग्नतामाथि प्रश्न उठाएको छ भने न्यायपरिषदको पुनर्संरचनाको माग गरेको छ ।