एजेन्सी । युक्रेनी सेनाको आक्रमणबाट एक रुसी मेजर जनरलको मृत्यु भएको छ ।
अन्तराष्ट्रि सञ्चारमाध्यम डोली मेलका अनुसार युक्रेन सेनाले राजधानी किभबाट करिब ४८ किलोमिटर पर रुसी सेनाको कमाण्ड सम्हालिरहेका मेजर जनरल आन्द्रेई सुखोवत्स्कीको गोली हानी हत्या गरेको हो ।
रूसी सेनाले अहिलेमसम्म आधिकारिकरुपमा मेजर जनरलको मृत्युको पुष्टि गरेको छैन । रुसको सैन्य सूत्रले डेली मेललाई बताए अनुसार मेजर जनरलमाथि युक्रेनी स्नाइपरले गोली हानेका थिए । सुखोवत्स्कीको हत्या रुसका लागि ठूलो झट्का मानिएको छ ।
उनको अन्तिम संस्कार भोलि (शनिबार) रिपोर्टमा उल्लेख छ । सुखोवेत्स्की ४७ वर्षका थिए । उनले एक सैन्य एकाडेमीमा उत्तीर्ण भएपछि प्लाटुन कमाण्डरका रुपमा सेवा शुरु गरेका थिए । अहिले उनी रूसी सेन्ट्रल फोर्सको ४१ औं बटालियनका डेपुटी कमाण्डर पदमा तैनाथ थिए ।
युक्रेनमा हमलाको ९ दिन बित्दा रुसका ४९० बढी सेना मारिएका छन् । रूसी रक्षा मन्त्रालयले बिहीबार ४९८ सैनिक मारिएको पुष्टि गरेको थियो । उता युक्रेनी सञ्चारमाध्यमले भने रुसका ९ हजार बढी सैनिक मारिएको दाबी गरेको छ । तर यसको स्वतन्त्र पुष्टि भएको छैन । युक्रेनका २८ सय सैनिक मारिएको बताइएको छ ।