कपिलबस्तु, कात्तिक ४ गते । कपिलबस्तुमा चाडपर्व नजिकिए संगै कपिलबस्तुमा बजार अनुगमनमा तिब्रता दिइएको छ । बजार अनुगमनको क्रममा बहादुरगंज बजारमा अधिकांश किरना पसलहरुमा मुल्य सूची नभएको, होटल, रेष्टुरेण्ट तथा मिठाई पसल सरसफाई नभएको भेटिएको र एक बेकरी उद्योग अनुज्ञापत्र विना संञ्चालनमा रहेको जिल्ला प्रशासन कार्यालयका प्रतिनिधि बाबुराम शर्माले बताउनुभयो ।
उहाँका अनुसार सो क्षेत्रमा एक दर्जन भन्दा बढी होटल, रेष्टुरेण्ट र किरना पसलमा अनुगमन गरिएको बताउनुभयो । किरना पसलहरुमा अखाद्य बस्तु नबेच्न र होटल तथा चियानास्ता पसलमा सरसफाई बढाउनका साथै बजार नियन्त्रण गर्ने उद्देश्यले बजार अनुगमन गरिएको शर्माले बताउनुभयो । अनुगमनको क्रममा तिनवटा होटललाई ६ हजार र बेकरी उद्योगलाई पाँच हजार जरिवना कटिएको उहाँले बताउनुभयो ।
अनुगमनका क्रममा म्याद नाघेका खाद्यवस्तुहरु सँगै लेबल नभएको वस्तुहरु फेला पारी जफत गरीएको खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालयका प्रमुख शिव शंकर मिश्राले बताउनुभयो ।
बजार अनुगमनको क्रममा दर्ता विना सञ्चालनमा रहेको किरना पसललाई चाडै दर्ता गरि सञ्चालन गर्ने र मुल्यसुची राख्ने निर्देशन दिइएको घरेलु तथा साना उद्योग कार्यालय कपिलबस्तुका विष्णु पोखरेलले बताउनुभयो । अनुगमनको क्रममा घरेलु तथा साना उद्योग कार्यलयका लेखापाल गोविन्द तेली, श्रवण कुमार शैनी प्रहरी, पत्रकार लगायतको सहभागिता रहेको थियो । अनुगमन घरेलु तथा साना उद्योग कार्यालयको आयोजनामा भएको हो ।