महोत्तरी । महोत्तरीसहित मिथिला क्षेत्रमा आज ‘भैयादुज’ पर्व मनाइँदै छ । यमपञ्चक अर्थात् दीपावली पर्वको पाँचौँ दिन कात्तिक शुक्ल द्वितीया तिथिमा दाजुभाइले दिदीबहिनीको निम्ता मान्दै यो चाड मनाउने मैथिल परम्परा रहँदै आएको छ ।
सामान्यतया पाँच दिनको हुने यमपञ्चक यसपालि भने धनतेरस गत शनिबार नै मनाइँदा छ दिनको भएको छ । दिनमा तिथिको भोग घटबढले यसपालि छ दिनको यमपञ्चक परेको हो ।
भरद्वितीया, भातृद्वितीया पनि भनिने यो पर्वमा विवाहित दिदीबहिनीले दाजुभाइलाई घरमा निम्ता गर्छन् । यमपञ्चकमा पर्वते मूलका र मैथिल हिन्दूको पर्व मनाउने पौराणिक कथावस्तु भने एउटै पाइन्छ । अघि सत्ययुगमा राजा बलिका बहिनी गङ्गा र यमुनाले दाजुको सौर्यवृद्धि, कल्याण र दीर्घजीवनको कामना गर्दै सप्तरङ्गी टीका लगाइदिएका कथा नै यो पर्वको आधार परम्परा रहँदै आएको मिथिलाका प्रसिद्ध साहित्यकार डा. राजेन्द्र विमल बताउँछन् ।
मैथिल परम्पराको ‘भैयादुज’ पर्वमा दिदीबहिनीले दाजुभाइलाई निम्ता गर्ने चलन छ । विवाहित दिदीबहिनीको निम्ता मान्न दाजुभाइ नयाँ वस्त्र, आभूषण कोसेली लिएर जाने गर्छन् । पर्वमा दिदीबहिनीले घरमा पिठार (पानीमा घोलिएको अरवा चामलको पिठो) ले अरिपन (चतुष्कोण घेरा) बनाएर त्यो सीमाभित्र काठको पिरामा दाजुभाइ बसाउँछन् । टाढाबाट थाकेर आएका दाजुभाइको गोडा कोपरामा राखेर तातोपानीले धुने गरिन्छ । त्यसपछि अञ्जुली फैलाएका दाजुभाइलाई पिठार, पानको पात र सुपारी राखी दिएर दिदीबहिनीले सप्तरङ्गी टीका लगाइदिने मैथिल परम्परा छ ।