गुल्मी । गएको एक वर्षको अवधिमा गुल्मीका ७ बालिका र ८ महिलाको बलात्कार भयो । बलात्कार हुनेमा चार वर्षीया बालिकादेखि ६५ वर्षकी वृद्धासमेत छन् । उनीहरुको बलात्कार मात्र भएन । मानव अधिकार पनि खोसियो । स्वतन्त्रतापूर्वक बाँच्न पाउने हकले उनीहरुलाई गिज्याइरहेको छ । पीडक गिरफ्तार भई पुर्पक्षका लागि कारागार चलान हुनुबाहेक उनीहरुको चित्त बुझाउने बाटो केही छैन् । उनीहरु समाजका अगाडि मरेतुल्य बन्न बाध्य छन् ।
जिल्ला कारागार गुल्मीमा ‘घ’ श्रेणीअन्तर्गत पाँच महिला र २० पुरुष गरी २५ कैदीबन्दी राख्ने क्षमता छ । तर, अहिले कारागारमा त्यसको तेब्बरभन्दा चारले बढी ७९ कैदीबन्दी राखिएको छ । कारागारमा ७२ जना पुरुष र सात जना महिला कैदीबन्दी छन् । उनीहरु रातको १२ बजेसम्म एक थरी र १२ बजेपछि अर्को थरी गरेर पालैपालो सुत्दै आएका छन् । उनीहरुलाई पनि मानवअधिकारले गिज्याइरहेको छ । कार्यालय चुहिने र नियमित स्वास्थ्य परीक्षण नहुने समस्यामा पनि कैदीबन्दी छन् ।
गुल्मी अस्पतालमा १० विशेषज्ञ डाक्टरसहित ५९ जना कर्मचारीको दरबन्दी छ तर, अस्पताल एक निमित्त प्रमुख डाक्टरसहित मात्रै १७ जनाले चलाइरहेका छन् । स्वास्थ्य बिमापछि अस्पतालमा हुने बिरामीको चापलाई ५९ भनिए पनि १७ जनाले सेवा दिनुपर्ने अवस्था छ । यहाँ दिनरात भन्न नपाइकन सेवा दिनुपर्ने डाक्टर र समयमै उपचार नपाउने बिरामीको मानवअधिकार पनि नारामै सीमित छ ।
शिक्षाको क्षेत्रमा पनि मानवअधिकारको अवस्था चिन्ताजनक छ । चार सय २० आधारभूत र एक सय ४६ माध्यमिक विद्यालय रहेको गुल्मीमा २२ माध्यमिक र १५ आधारभूत विद्यालय मात्र अपाङ्गमैत्री छन् । जिल्लाभर नौ सय ५७ अपाङ्ता भएका विद्यार्थीले पढ्छन् तर, ३७ विद्यालयबाहेक अन्यत्र पढ्ने विद्यार्थीले पनि मानवअधिकारको अनिभूति गर्न पाएका छैनन् ।