साझा न्यूज । तौलिहवा
कपिलवस्तु नगरपालिका क्षेत्रमा स्वास्थ्य र शिक्षालाई पहिलो प्राथमिकतामा राखेर आफुहरुले कार्य शुरु गरेको कपिलवस्तु नगरपालिकाका नगर प्रमुख सुदीप पौडेलले बताएका छन् ।
कपिलवस्तु नगरपालिका वडा नं. २ वर्दहवा गाउं स्थित गौतम बुद्ध आधारभूत विद्यालयमा आयोजित अर्धवार्षिक परीक्षाफल प्रकाशन तथा पुरस्कार वितरण कार्यक्रमलाई सम्वोधन गर्दै नगर प्रमुख पौडेल आफ्नो कार्यकालको ५ वर्ष भित्रमा नगर क्षेत्रका सवै सामुदायिक विद्यालयका भौतिक, शैक्षिक तथा अन्य समस्या समाधानका लागि कार्य योजना साथ अघि बढेको बताए । चालु आर्थिक वर्षमा नगरको शिक्षा क्षेत्रको विकासका लागि १ करोड रुपैया विनियोजन भएको उनले बताए ।
कार्यक्रममा विद्यालयमा कक्षा १ देखि ४ सम्मको विद्यार्थीहरुलाई लिईएको अर्धवार्षिक परीक्षाको नतिजा प्रकाशन गरी कक्षा प्रथम, दोस्रो र तेस्रो आएका विद्यार्थीहरुलाई पुरस्कृत गर्दै अन्य उत्तीर्ण सवै कक्षाका सवै विद्यार्थीहरुलाई कापी र पेन्सिल वितरण गरिएको थियो । कार्यक्रममा नगरपालिकाका शिक्षा शाखा प्रमुख हरि प्रसाद ज्ञवालीले सवै सामुदायिक विद्यालयहरुले गुणस्तरीय शिक्षामा विशेष जोड दिंदै शिक्षा क्षेत्रको विकासका लागि योगदान दिनु पर्नेमा जोड दिए ।
कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मुख्तार अहमद खां, निमित्त वडा अध्यक्ष गंगा राम यादव, पुर्व वडा अध्यक्ष राम भजन कलवार, समाजसेवी सुरेन्द्र राज लम्साल लगायतको उपस्थिति रहेको थियो । सो अवसरमा विद्यालयमा व्यक्तिगत सरसफाई तर्फ प्रत्येक कक्षाका छात्र छात्रा गरी १० जनालाई सरसफाईजन्य सामाग्री साबुन, टुथ पेष्ट, टुथ ब्रस वितरण गरिएको विद्यालयकी प्रधान अध्यापक सुजता सुवालले बताईन् ।