नेपालको कालीगण्डकी नदीबाट उत्खनन गरिएको देवशिला गएराति भारतको उत्तर प्रदेशस्थित अयोध्या पुऱ्याइएको छ । अयोध्यामा निर्माणाधीन राममन्दिरमा राखिने भगवान् रामको मूर्ति बनाउन उक्त शिला अयोध्या लगिएको हो ।
यही माघ १२ गते म्याग्दीको बेनी नगरपालिका-६ ठूलोपहिरोस्थित कालीगण्डकी नदी किनारबाट निकालिएको शिलासहितको टोली माघ १६ गते जनकपुरधामबाट अयोध्याका प्रस्थान गरेकामा दुई दिनपछि त्यहाँ पुगेको हो । अयोध्या प्रवेशसँगै श्रीराम जन्मभूमि तीर्थ क्षेत्र ट्रस्टका महासचिव चंपत रायले नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै शिला लिएर पुगेका जानकी मन्दिरका महन्थ रामतपेश्वर दाससहितको टोलीलाई भव्य स्वागत गरेका थिए ।
ठूलो सङ्ख्यामा उपस्थित स्थानीयले श्रद्धापूर्वक शिलालाई भित्र्याए । शिलालाई अयोध्याको राम सेवकपुरममा राखिएको छ भने आज बिहान विशेष समारोहबीच श्रीराम जन्मभूमि तीर्थ क्षेत्र ट्रस्टलाई हस्तान्तरण गर्ने कार्यक्रम रहेको बताइएको छ।
यसअघि बुधबार बिहान गोरखपुरस्थित गोरखनाथ मन्दिर परिसरमा विशेष हवन पूजापछि देवशिला अयोध्यातर्फ अगाडी बढाइएको थियो ।