ट्याक्टर आगजनीको आरोपमा फरार अभियुक्त रहेका कैलाली क्षेत्र नम्बर २ बाट निर्वाचित सांसद अरुणकुमार चौधरी बिहीबार पक्राउ परेका छन्।
ट्याक्टरमा आगो लगाएको आरोपमा उनीमाथि कैलाली जिल्ला अदालतले ६ महिना कैद सजाय र ८ लाख १९ हजार रुपैयाँ भराउने फैसला गरेको थियो। अदालतको आदेशअनुसारको सजाय नभोगी फरार रहेका चौधरीलाई बिहीबार पक्राउ गरिएको हो।
उनलाई बाँकेको कोहलपुरबाट पक्राउ गरेर कैलाली अदालततर्फ लगिँदै गरिएको प्रहरी प्रवक्ता डीआईजी पोषराज पोखरेलले जानकारी दिए।
चौधरी नागरिक उन्मुक्ति पार्टीबाट कैलाली–२ बाट प्रतिनिधि सभामा निर्वाचित छन्।
कैलालीको गोराङ्गा खोलाबाट ढुंगा लिएर लम्की जाँदै गएको ट्याक्टरमा ३ भदौ २०६६ मा आगजनी गरेको आरोपमा सांसद चौधरीसहित तीनजनामाथि ६/६ महिनाको कैद सजायसाथै ८ लाख १९ हजार रुपैयाँ जरिवाना तिराउने फैसला अदालतले गरेको थियो।
दोषी ठहर भएकामध्ये वीरबहादुर चौधरी गत शुक्रबार पक्राउ परेपछि फरार रहेका अर्का व्यक्ति सांसद चौधरी भएको खुलेको हो।