खाना पकाउने ग्यास सिलिण्डर विस्फोट हुँदा गम्भीर घाइते भएका नेपाली कांग्रेसका सांसदचन्द्र भण्डारी र उनकी आमालाई थप उपचारका लागि भारत लैजाने तयारी भएकाे छ।
हाल उनीहरूको कीर्तिपुरस्थित बर्न अस्पतालकाे आइसियूमा उपचार भइरहेको छ। भण्डारीको शरीरको २५- ३० प्रतिशत भाग र आमाको ७० प्रतिशत भाग जलेको बताइएको छ।
थप उपचारका लागि अस्पतालले नै विदेशका लागि सिफारिस गरेकाे हाे। सिफारिसअनुसार भारत लैजाने तयारी भइरहेकाे अस्पताल स्राेतले जनाएकाे छ।
चिकित्सकीय भाषामा शरीरको २० प्रतिशतभन्दा बढी भागमा जल्नुलाई गम्भीर अवस्था मानिन्छ।
बुद्धनगरस्थित सांसद भण्डारीकाे निवासमा गएराति करिब १० बजेतिर सिलिन्डर विस्फोट भएको थियो।
कांग्रेस नेता भण्डारी गुल्मी- १ बाट निर्वाचित सांसद् हुन्।